कास्की–१ मा वैज्ञानिक मनिषा द्धाको उम्मेदवारी
पोखरा। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि कास्की क्षेत्र नं. १ मा एक विशिष्ट र प्राज्ञिक प्रतिस्पर्धाको दृश्य देखिएको छ। आकाशका तारा र ग्यालेक्सीहरूको अनुसन्धानमा तल्लीन खगोल वैज्ञानिक मनिषा द्धाले निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएसँगै कास्कीको राजनीतिमा नयाँ बहस र उत्साह थपिएको छ। उज्यालो नेपाल पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रिएकी द्धाले देशको नीति निर्माण तहमा विज्ञान र प्रविधिको खडेरी चिर्न आफू उम्मेदवार बनेको उद्घोष गरेकी छन्।
पर्यटन र कृषिको आधुनिक भविष्य: खगोल र प्रविधिको फ्युजन उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै द्धाले आफ्नो मुख्य फोकस शिक्षा, संस्कृति र पर्यटनमा रहने बताइन्। तर, यी क्षेत्रहरूलाई परम्परागत शैलीमा भन्दा पनि आधुनिक र वैज्ञानिक पद्धतिबाट अघि बढाउने उनको भिजन छ। उनले भनिन्, “नेपाल कृषि प्रधान देश भए पनि युवामा कृषिप्रति चरम वितृष्णा छ। हामी परनिर्भर हुँदै गएका छौँ। नयाँ प्रविधि बिना कृषिको आधुनिकीकरण सम्भव छैन, त्यसैले कृषि क्षेत्रको विकासका लागि म कृषि पर्यटन (Agro-Tourism) को अवधारणालाई उच्च प्राथमिकताका साथ अघि बढाउन चाहन्छु। प्रविधियुक्त कृषिले मात्र युवालाई आकर्षित गर्न र आर्थिक आत्मनिर्भरता हासिल गर्न सक्छ।” यसैगरी, एक खगोल वैज्ञानिकको रूपमा उनले नेपालको पर्यटनमा नयाँ आयाम थप्ने संकल्प गरेकी छन्। “कास्कीको प्राकृतिक सौन्दर्यलाई विज्ञानसँग जोड्दै नेपालमा खगोल पर्यटन (Astro-Tourism) को जग बसाल्नु मेरो अर्को महत्त्वपूर्ण एजेन्डा हो।
तारा अवलोकन, टेलिस्कोपिक टुरिजम र अन्तरिक्ष विज्ञान सम्बन्धी केन्द्रहरू स्थापना गरेर हामीले विश्वभरका पर्यटक र विद्यार्थीलाई कास्कीमा भित्र्याउन सक्छौं,” उनले थपिन्। विद्यालयबाटै ‘जिज्ञासु’ पुस्ताको निर्माण नेपालको वर्तमान शिक्षा प्रणाली र नीति निर्माणमा विज्ञान उपेक्षामा परेकोमा द्धाको गम्भीर चिन्ता छ। हाई इनर्जी एस्ट्रोफिजिक्समा पिएचडी गरिरहेकी उनले विद्यालय तहदेखि नै बालबालिकाहरूलाई विज्ञानप्रति जिज्ञासु बनाउनुपर्नेमा जोड दिइन्। उनले भनिन्, “नीति निर्माणमा विज्ञान जसरी उपेक्षामा परेको छ, अबको नीति त्यसैलाई जग मानेर बन्नुपर्छ। बालबालिकालाई प्रश्न गर्न सिकाउने र जिज्ञासु बनाउने शिक्षा प्रणाली आजको आवश्यकता हो।” विद्यार्थीहरूका लागि ‘शैक्षिक आदान–प्रदान’ को एजेन्डालाई पनि उनले विशेष महत्त्व दिएकी छन्।
को हुन् मनिषा द्धा ?
पोखरा–१३, भद्रकाली निवासी मनिषा द्धा शैक्षिक र व्यवसायिक रूपमा एक स्थापित नाम हुन्। त्रिभुवन विश्वविद्यालयबाट भौतिक शास्त्रमा स्नातक गरेकी उनले हाल ‘हाई इनर्जी एस्ट्रोफिजिक्स’ (High Energy Astrophysics) मा विद्यावारिधि (PhD) गरिरहेकी छन्। नेपालमा खगोल विज्ञानको प्रवर्द्धनमा सक्रिय ‘नेपाल एस्ट्रोनोमिकल सोसाइटी’ (नासो) को उपप्रबन्धकको रूपमा कार्यरत द्धाले विज्ञानलाई प्रयोगशालाबाट बाहिर ल्याएर जनताको जीवनस्तरसँग जोड्ने सपना बोकेकी छन्। समृद्धि, सुशासन र सामाजिक न्यायको आधार नै शिक्षा भएको बताउने द्धाको उम्मेदवारीले ‘भिजन’ र ‘विज्ञता’ को राजनीति खोज्ने युवा पुस्तामा ठूलो आशा जगाएको छ।









