हेटौँडा । “आफ्नो मेहेनत र पसिनामा हुर्केको स्वाभिमानी नागरिक कहिल्यै कसैको दास बन्दैन” भन्ने दृढ संकल्पका साथ रुकुम पश्चिमका युवा उद्यमी एवं लेखक विजय कुमार शर्माको मेची–महाकाली पदयात्रा ११औँ दिनमा प्रवेश गरेको छ। माघ २१ गते झापाको मेची पुलबाट ‘स्थिर सरकार: युगको आवश्यकता’ भन्ने मूल नाराका साथ सुरु भएको उनको १,२०० किलोमिटर लामो पदयात्रा यतिबेला मध्य नेपाल आइपुगेको हो।
कृषि क्रान्ति र राजनीतिक स्थिरताको सन्देश
पेशाले सफल पशु व्यवसायी र स्वभावले विद्रोही चेतनाका लेखक शर्माले देशको समृद्धि र सुशासनका लागि राजनीतिक स्थायित्वलाई पहिलो सर्त मानेका छन्। लामो समयदेखि पशुपालन व्यवसायमार्फत आफ्नो परिवारलाई आत्मनिर्भर बनाएका उनले नेपाली युवाहरूलाई स्वदेशमै पसिना बगाउन र आत्मनिर्भरताको बाटो रोज्न प्रेरित गर्दै आएका छन्।
उनको मान्यता छ “नेपालमा आत्मनिर्भरताको एकमात्र निर्विकल्प मार्ग कृषि हो। तर, यसका लागि कृषिको आधुनिकीकरण र औद्योगिकीकरण जरुरी छ।” वैदेशिक पलायन रोक्न र ‘नेपालको माटो, नेपालीको धन’ भन्ने नारालाई सार्थक बनाउन राज्यले स्थिर नीति र सुशासन दिनुपर्ने माग उनको पदयात्राको मुख्य उद्देश्य रहेको छ।
११औँ दिनको यात्रा: हेटौँडादेखि लोथरसम्म
आफ्नो पदयात्राको ११औँ दिनमा शर्माले मकवानपुरको हेटौँडाबाट यात्रा सुरु गरी नवलपुर, लेवट, बस्तीपुर, रजैया र मनहरी हुँदै चितवन र मकवानपुरको सीमावर्ती क्षेत्र लोथरसम्मको दूरी पार गरेका छन्। आज एकैदिन झण्डै ३५ किलोमिटर पैदल यात्रा तय गरी उनी लोथरमा बास बसेका हुन्।
यात्राका क्रममा उनले बाटोमा भेटिने नागरिकहरूसँग देशको अवस्था, कृषिको सम्भावना र राजनीतिक अस्थिरताले पारेको असरबारे जीवन्त संवाद समेत गरिरहेका छन्।
अनुभवको संकलन र लेखन
लेखक समेत रहेका शर्माले पदयात्रालाई केवल हिँडाइमा मात्र सीमित राखेका छैनन्। उनले बाटोमा देखेका दृश्य, भोगेका अनुभव र नागरिकका भावनालाई शब्द र तस्बिरमा कैद गर्दै आएका छन्। उनले भने, “यो यात्रा मेरो व्यक्तिगत रहर मात्र होइन, यो त देशको सुशासन र समृद्धिका लागि एउटा नागरिकले गरेको शान्तिपूर्ण विद्रोह र पदचाप हो।”
कृषि र किसानका समस्याका बारेमा पुस्तक समेत लेखिसकेका शर्माले यो पदयात्राबाट प्राप्त अनुभवलाई भविष्यमा नयाँ कृतिको रूप दिने संकेत गरेका छन्। पूर्वको मेचीबाट सुरु भएको उनको यो ऐतिहासिक महायात्रा सुदूरपश्चिमको महाकाली पुलमा पुगेर समापन हुनेछ। ११ दिनको यात्रा पूरा गरिसक्दा उनी अझै उत्साहित र ऊर्जावान् देखिएका छन्।









