विराटनगर/झापा – नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध समाधानका लागि प्रधानमन्त्री कार्यालयले गम्भीरतापूर्वक प्रशासनिक तथा कूटनीतिक पहल गर्ने आश्वासन दिएपछि पूर्वका बन्द चिया उद्योग तथा बगानहरू पुनः सञ्चालनमा आएका छन्।
नेपालबाट भारत पुगेको तयारी चियालाई प्रयोगशाला परीक्षणको बहानामा भारतीय पक्षले नाकामा अवरोध गरेपछि करिब ३ लाख केजी चिया भारतीय गोदाममा थन्किएको थियो। यस्तै, निर्यात ठप्प हुँदा नेपालकै गोदामहरूमा पनि १० लाख केजीभन्दा बढी चिया थन्किएपछि इलामका उद्योगीहरूले असार १ गतेदेखि र झापाका उद्योगीहरूले असार ४ गतेदेखि उद्योग र बगान पूर्ण रूपमा बन्द गरेका थिए। यसबीचमा झापा र इलाम सहित पूर्वका ९९ चिया उद्योग र १०० भन्दा बढी बगानमा काम ठप्प हुँदा चिया मजदुरहरूको दैनिक गुजारा र कृषकहरूलाई ठूलो समस्या परेको थियो।
यसअघि उद्योगीहरूले प्रधानमन्त्री बालेन शाहसँग भेटका लागि प्रयास गरे पनि व्यस्तताका कारण भेट हुन सकेको थिएन। तर, उनको सचिवालयका सदस्यहरूसँग भएको भेटवार्तामा सचिवालयले भारत चिया नजाने अवस्था भए अरू के विकल्प हुनसक्छ, त्यसको विकल्प पेस गर्न उद्योगीहरूलाई आग्रह गरेको थियो।
यसैबीच, प्रधानमन्त्री कार्यालयका तर्फबाट प्रधानमन्त्री बालेन शाहकी प्रेस सल्लाहकार दीपा दाहालले चिया समस्या समाधानका लागि सरकारले विशेष कार्यदल गठन गरेको सार्वजनिक गरेकी छिन्। दाहालका अनुसार, ‘नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र समाधानका लागि सरकारले एक विशेष कार्यदल गठन गरेको छ, जसलाई विस्तृत अध्ययन गरी आगामी दुई हप्ताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका सुझाव सहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।’
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सह–सचिवको संयोजकत्वमा गठित उक्त कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, गृह, परराष्ट्र, र कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिवहरूका साथै भन्सार विभागका उप–مहानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, र राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशकहरूको प्रतिनिधित्व रहेको छ। कार्यदलको सदस्य सचिवको जिम्मेवारी उद्योग मन्त्रालयका उपसचिवलाई तोकिएको छ।
नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले सरकारको यो सकारात्मक र विशेष कदमप्रति आश्वस्त हुँदै, बगानमा हरियो चियापत्ति हुर्कँदै गएको संवेदनशील अवस्था र चिया मजदुरहरूको दैनिक गुजारामा परेको असरलाई मध्यनजर राख्दै उद्योगहरू पुनः सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए। गुप्ताका अनुसार बिहीबारदेखि फाटफुट रूपमा खुलेका उद्योगहरू शुक्रबारदेखि झापा, इलाम सहित पूर्वका सबै क्षेत्रमा पूर्ण रूपमा सञ्चालनमा आउनेछन् र बगानको काम पनि यथावत सुरु हुनेछ।









