रचनाकार: तोयनाथ तिवारी
ठेगाना: मण्डनदेउपुर-९, रानीटार, काभ्रे
असार आयो
खाउँला पिउँला
रमाइलो गरौँला,
एकादेशको कथा भएछ !
असार १५ आयो, राज्यले
धान दिवस मनाउँछ,
किसान न त मल पाउँछ
न त धान रोप्न सक्छ ।
पानीको सिँचाइ छ
रोप्न धानको बीउ छ,
धान रोप्ने जमिन
खनजोत भएको छ।
रोपार छन्, धानको
बीउ छ, सबै छ, बिचरा
किसान ऊ अलमल्लमा छ,
भएको सारा सम्पत्ति
यसैमा खर्चेको छ।
पारिबाट काजीको
रोपाइँको लर्को
खेततिर लागेको छ,
पञ्चेबाजा घन्केको छ।
हल गोरुलाई भ्याइनभ्याइ
दौडेको छ,
बाउसेलाई ठाउँ बनाउँदै
व्यस्तता छ, उता काजी लौरो-
को भरमा नाचगान गर्ने
टिमकता छ भनेको छ।
पारिबाट केटाकेटी
चियाएर हेरेको छ,
आफ्नो बाबु काजीको
रोपाइँमा गएको छ।
कतिखेर काजीको
रोपाइँमा खाजा बाँड्न
लाग्छन् भनेर हेरेको छ,
यता काजी साइँला-
‘दोपरे बाँड बाबु’ भन्न थालेको छ।
केटाकेटीलाई देखेर
काजी ‘ल नानी बाबुहो,
नाच नाच’ भनेको छ,
एकैछिनमा साइँला दाइले
सबैलाई खाजा बाँडेको छ।
रोपारले ‘असार १५ आज धेरै
रमाइलो भएको छ,
बाँचियो भने आगामी साल
यसैगरी रमाइलो गरौँला’ भन्दै छन्।
हुनेलाई चैन, नहुनेलाई ऐन,
हुनेले असार पन्ध्र मनायो,
नहुनेले कहिल्यै अर्काको
हेरेरै समय बितायो।
स्थानीय सरकार !
अब त गरिबगुरुवाका लागि
प्रोत्साहन कार्यक्रममार्फत
सबैलाई समान असार पन्ध्र मनाउने
कार्यक्रम ल्याऊ, शुभकामना !!









