चर्चित

लक्ष्मण र समृद्ध बने विजेता
काठमाडौँ, असार १६ । विश्वकै पहिलो कृषि गेम रियालिटी शो ‘Revolutionary Agriculture War’ (RAW) को पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएको छ। राष्ट्रिय धान दिवसको अवसरमा आयोजित एक भव्य ग्राण्ड फिनालेमार्फत प्रतियोगिताको दुई फरक विधातर्फ किसानबाट लक्ष्मण के.सी. र कृषि प्राविधिकतर्फ समृद्ध भन्तना विजेता घोषित भएका हुन्।

त्यसैगरी, इतिहासमै पहिलो पटक लागू गरिएको वृक्षारोपणमा आधारित विशेष भोटिङ प्रणालीबाट प्राप्त अंकका आधारमा कृषि प्राविधिक सुमन बिमलीले ‘RAW Climate Award’ को उपाधि हात पारेका छन्।

७७ वटै जिल्लाबाट सहभागिता, विजेतालाई १३ लाख
महानायक राजेश हमाल महाहोस्टका रूपमा रहेको ‘RAW’ करिब सात वर्षको सघन अध्ययन, अनुसन्धान तथा तयारीपछि सञ्चालनमा आएको विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो हो। कृषि, उद्यमशीलता तथा जलवायु परिवर्तनका चुनौतीलाई केन्द्रमा राखेर निर्माण गरिएको यस कार्यक्रममा देशका ७७ वटै जिल्लाबाट करिब १,६०० जना किसान तथा कृषि प्राविधिकहरूको आवेदन परेको थियो। विभिन्न चरणका कठिन प्रतिस्पर्धाहरू पार गर्दै उत्कृष्ट प्रतिस्पर्धीहरू ग्राण्ड फिनालेसम्म पुग्न सफल भएका थिए।

प्रतियोगिताका विजेता किसान लक्ष्मण के.सी. र प्राविधिक समृद्ध भन्तना दुवैले जनही १३ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरेका छन्। यसका साथै, किसानतर्फका विजेता के.सी. मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ब्रान्ड एम्बेसडर समेत बन्ने भएका छन्।

पर्यावरण संरक्षण र सामाजिक रूपान्तरणको नयाँ अभ्यास
शैलेश कडेल क्षेत्रीको परिकल्पना तथा निर्देशनमा सञ्चालन भएको यस शोले प्रतियोगितासँगै सामाजिक रूपान्तरणका विभिन्न बहुआयामिक अभियानहरूसमेत सञ्चालन गरेको जनाएको छ।

वृक्षारोपण भोटिङ: मतदान प्रक्रियालाई वातावरण संरक्षणसँग जोड्दै शोमार्फत देशभर करिब २ लाख ७० हजारभन्दा बढी बिरुवा रोपिएको छ, जुन आफैँमा एक सम्भावित विश्व कीर्तिमानी उपलब्धि हो।

विद्यालय जागरण अभियान: विद्यालयस्तरमै पुगेर विद्यार्थीहरूलाई कृषिको आधुनिक सम्भावना र अवसरबारे प्रेरित गरिएको थियो।

नेतृत्व अभियान: कृषि क्षेत्र र किसानका आवाजलाई देशको नीति निर्माण तहसम्म पुर्‍याउने विशेष प्रयास गरिएको थियो।

अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व: विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा २७ भन्दा बढी देशका प्रतिनिधिसमक्ष नेपालको मौलिक कृषि र किसानका मुद्दाहरूलाई सशक्त रूपमा प्रस्तुत गरिएको थियो।

आयोजकका अनुसार यस कार्यक्रमले कृषिलाई एक सम्मानित पेसा र किसानलाई समाजका अग्रणी व्यक्तित्वका रूपमा स्थापित गर्ने मुख्य लक्ष्य लिएको छ। पहिलो सिजनको भव्य सफलतासँगै ‘RAW’ ले नेपालको कृषि, उद्यमशीलता र जलवायु सचेतनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा एउटा नयाँ र आधुनिक पहिचान दिलाएको विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय