उघारिँदा अतितका पानाः हरियो वनस्पति र एउटा ठिटोको सपना
नेपालका पहाडी टाकुरा, खोल्साखाल्सी, गाउँघरका कान्ला अनि देउरालीका भिरहरूमा एउटा वनस्पति बाह्रै महिना लहलह झुल्छ । हरियो र सेतो रङको सम्मिश्रण बोकेको, छुँदा हुरुक्कै बास्ना आउने त्यो वनस्पति हो तितेपाती । जसलाई हाम्रो रैथाने समाजले हिजोसम्म गाईवस्तुको सोत्तर हाल्न, कालो मसी बनाउन वा दशैँ–तिहारमा जमरासँगै टाँस्न मात्रै प्रयोग गथ्र्यो ।
तर, कसैले नहेरेको र बाटोमा हिँड्दा गोडमेल गरेर मिल्काइने त्यही बुट्यानभित्र डलर र येनको खानी लुकेको छ भनेर कसले पो सोचेको थियो र ? त्यही वनस्पतिलाई चिन्नु र त्यसलाई देशको समृद्धिको बलियो खम्बा बनाउनु नै उद्यमी ईश्वर राज बलामीको जीवनको सबैभन्दा सुन्दर मोड बन्न पुग्यो । काठमाडौँको सीतापाइलाको माटोमा जन्मिएका ईश्वर राज बलामी सानै उमेरदेखि अलिकति भिन्न स्वभावको हुनुहुन्थ्यो । गाउँको प्राकृतिक सुन्दरता र कन्दमूल, जडीबुटीको गन्ध सुँघ्दै हुर्किएका उहाँलाई आफ्नो देशको वन–जंगलप्रति अगाध प्रेम थियो । समयको गतिसँगै हुर्किएर नै होला सायद उहाँ प्राकृतिक चिकित्सा अनि अकुपञ्चर विधाको पढाइतर्फ आकर्षित भएको । नेपालमा परम्परागत उपचारको आफ्नै महत्व भए पनि उहाँ यसलाई अझै वैज्ञानिक र आधुनिक रूपमा बुझ्न चाहनुहुन्थ्यो । यही हुटहुटीले उनलाई वि.सं. २०५१ सालमा सुदूरपूर्वको विकसित देश जापान पुर्यायो ।
त्यो समय नेपालमा वैदेशिक रोजगारीको लहर भर्खर–भर्खर सुरु हुँदै थियो । धैरेजसो युवाहरू विदेश जाने र उतै घरजम गर्ने या त टन्न पैसा कमाएर फर्कने सपना देख्ने गर्थे तर, बलामीकोे आँखाले भने जापानका गगनचुम्बी भवन वा अत्याधुनिक रेलहरू मात्र हेरेनन्, उहाँले त त्यहाँको संस्कृति र स्वास्थ्य पद्धतिभित्र लुकेको एउटा अनौठो रहस्यलाई नियाल्यो । त्यो ६ महिनाको अकुपञ्चर तालिम नै उनको जीवनको यस्तो विन्दु बन्यो, जसले उहाँलाई एउटा सामान्य उपचारकबाट नेपालकै माटोमा इतिहास रच्ने क्रान्तिकारी उद्यमीको रूपमा पुनर्जन्म दियो ।
जापानको त्यो अस्पताल र आँखा उघारिएको त्यो क्षण
जापान बसाइका क्रममा ईश्वर राजले त्यहाँका ठुला–ठुला अस्पताल र प्राकृतिक चिकित्सा केन्द्रहरूमा एउटा अनौठो दृश्य देख्नुभएको थियो । त्यहाँ हाडजोर्नी दुख्ने, नसा च्यापिएका, बाथ र पेटका पुराना रोगीहरूको उपचारका लागि एउटा विशेष विधिको प्रयोग गरिँदो रहेछ, जसलाई जापानी भाषामा मोग्जुभेसन थेरापी भनिन्थ्यो । यो विधिमा बिरामीको शरीरका विभिन्न एक्युप्रेसर बिन्दुहरूमा एउटा विशेष प्रकारको जडीबुटीको नरम भुवा राखेर बालिन्थ्यो र त्यसको रापले बिरामीलाई सेकिन्थ्यो । एक दिन अस्पतालमा काम गर्दै गर्दा बलामीकोे नाकमा निकै परिचित, पुरानो र चिनजानको सुगन्ध ठोक्किन आइपुग्यो । त्यो सुगन्धले उनलाई पलभरमै नेपालका पाखा र पखेराहरुमाको सम्झना दिलायो । उहाँले कौतूहल थाम्न नसकेर त्यो भुवालाई हातमा लिएर निकै ध्यानपूर्वक हेर्दै चिकित्सकहरूलाई सोध्नुभयो “यो के चिज हो ? “जापानी चिकित्सकहरूले मुस्कुराउँदै उत्तर दिए, “यो त मोक्जा हो, हाम्रो चिकित्सा पद्धतिको मुटु ।
बलामीले जब त्यो मोक्जाको बोट र पातको संरचनाबारे थप अनुसन्धान गर्नुभयो तब उहाँ छाँगाबाट खसेजस्तै हुनुभयो, किनभने त्यो जापानीहरूले सुन जत्तिकै महँगो मूल्यमा किन्ने मोक्जा अरू केही नभएर नेपालका झाडीहरूमा सित्तैमा उम्रिने तितेपातीको पातको पछाडि हुने सेतो भुवा थियो । जापानले त्यो भुवा चीन, कोरिया र अन्य देशहरूबाट अर्बौँ येन खर्च गरेर आयात गरिरहेको थियो । त्यही क्षण बलामीको मनमा एउटा ठुलो भुइँचालो गयो अर्थात उहाँले मनमनै सोच्नुभयो “धत ! जुन बोटलाई मेरा देशका किसानहरूले भारीका भारी उखेलेर भिरबाट फाल्छन्, जसलाई सोत्तर बनाएर गोठमा कुहाउँछन्, त्यसैलाई संसारकै सबैभन्दा विकसित देशले डलर र येन तिरेर किन्दो रहेछ । म आफ्नै देश फर्किन्छु र मेरो देशको यो सित्तैमा पाइने वनस्पतिलाई संसारको बजारमा पुर्याउँछु” ।
स्वदेश फिर्तीको हुटहुटी र समृद्धको त्यो कठिन यात्रा
तालिम सकिएपछि ईश्वर राज बलामीका अगाडि जापानमै बसेर सुखसयलको जिन्दगी बिताउने र महिनाको लाखौँ कमाउने अवसर खुल्ला थियो । तर, काठमाडौँको सीतापाइला रामकोटमै फर्किएर केही गर्नुपर्छ भन्ने हुटहुटीले उनलाई सताइरह्यो । उहाँ जापानको विलासिता त्यागेर नेपाल नेपाल फर्केपछि अब तितेपातीको काम गर्छु भन्नुभयो तर त्यो समय कसैले यो कुरा पत्याएनन् ।
मानिसहरूले भन्थे, “विदेश गएर के–के न सिकेर आयो होला भनेको त, यसको त दिमाग नै खुस्केछ ! कतै तितेपाती बेचेर पनि पैसा कमाइन्छ ? यो त बहुलाएछ, बहुलाएछ” । गाउँका ठुलाबडाहरूले जिस्काउँदै सोध्थे, “होइन ईश्वर बाबु, अब हाम्रा गोठका मलखादमा डलर फल्ने भयो त त्यसो भए ? समाजको त्यो तिखो प्रहार र खिसीट्युरीले ईश्वर राजको मन अमिलो हुन्थ्यो, तर बलामीको आत्मविश्वास कहिल्यै डगमगाएन ।
महिनौँसम्मको अथक प्रयास र असफलताका अनेकौँ शृङ्खला पार गरेपछि अन्ततः उहाँले कपास जस्तै सेतो, सुगन्धित र शुद्ध तितेपातीको भुवा अर्थात् मोक्जा तयार भयो । उनले त्यो पहिलो नमुना जापानको कम्पनीमा परीक्षणका लागि पठाउनुभयो र व्यग्रताका साथ रिपोर्टको पर्खाइमा बसे र उनले सोँचेजस्तै तितेपातीको गुणस्तर चीन वा कोरियाको भन्दा पनि नेपालको उत्कृष्ट भयो ।
जब जापानी वैज्ञानिक अचम्मित भए र खुल्यो नयाँ बाटो
केही हप्तापछि जापानबाट सुखद समाचार आयो, जसले ईश्वर राजका आँखाबाट हर्षका आँसु बगाइदियो । जापानका वैज्ञानिक र ल्याबहरूले प्रमाणित गरिदिए कि नेपालको उच्च पहाडी र हिमाली भेगमा पाइने तितेपातीको गुणस्तर चीन वा कोरियाको भन्दा कता हो कता उत्कृष्ट, बढी सुगन्धित र औषधीय गुणले भरिपूर्ण छ । नेपालको हावापानी र माटोको मगमगाउँदो सुगन्ध त्यो भुवामा प्रस्टै झल्किन्थ्यो । त्यसपछि जापानको बहुप्रतिष्ठित कम्पनी यामशो कम्पनीले बलामीसँग सिधै व्यावसायिक सम्झौता ग¥यो । बलामीले नेपालमा समेत यामाशो नेपाल प्रा.लि. कम्पनी खोलेर तितेपातीको मोक्जा आधिकारिक रुपमा जापान पठाँउन थाल्नुभयो ।
बजारको कुनै समस्या छैन, माग बढिरहेको छ
जापानको बजारमा नेपाली तितेपातीको माग यति धैरे छ कि कम्पनीले वर्षमा ६० टनसम्म मोक्जा पठाइदिन आग्रह गर्छ । तर, नेपालमा प्रविधिको सीमितता र संकलन गर्ने पर्याप्त जनशक्ति नहुँदा बलामीले वर्षमा करिब २० टन मात्र निर्यात गर्न सफल भएका छन् । बजारको कुनै समस्या छैन, माग यति धैरे छ कि उहाँलाई पु¥याउनै धौ–धौ परिरहेको छ । यो सफलता बलामीको व्यक्तिगत कमाइमा मात्र सीमित छैन । बलामीले संखुवासभामा ६० रोपनी, ठोरीमा ४ बिघा र पाँचथरमा २०० रोपनी जग्गामा तितेपातीको व्यावसायिक खेती र संकलन सुरु गरेर एउटा ठुलो क्रान्ति नै ल्याइदिनुभएको छ । उहाँको यो अभियानले गाउँका विपन्न परिवार, वृद्धवृद्धा र विशेष गरी महिलाहरूलाई ठुलो रोजगारी दिएको छ । हिजोसम्म एक रुपैयाँ पनि आम्दानी नहुने ग्रामीण महिलाहरू आज जंगलबाट तितेपाती टिपेर र उद्योगमा काम गरेर स्वावलम्बी बनेका छन् ।
युवा पुस्तालाई उद्यमको पाठशाला बनाउन सफल बलामी
ईश्वर राज बलामीको यो ३२ वर्षभन्दा लामो संघर्ष र सफलताको गाथाले आजका नेपाली युवाहरूलाई एउटा निकै गहिरो र मार्मिक सन्देश दिन्छ । आज हाम्रा लाखौँ दाजुभाइ र दिदीबहिनीहरू रोजगारीको खोजीमा खाडी मुलुकको ५० डिग्रीको तातो घाममा पसिना बगाउन बाध्य छन् । तर, ईश्वर राज भन्नुहुन्छ “हाम्रो खेतबारी र पाखाहरू बाँझो छोडेर विदेशिने युवाहरूले यो कुरा बुझ्न जरुरी छ कि हाम्रै गाउँघरको हावा र झाडीमा करोडौँ रुपैयाँ उडिरहेको छ, मात्र हामीसँग त्यसलाई समात्ने सोच हुनुपर्छ ”। यदि कसैसँग १० रोपनी मात्र पनि जग्गा छ भने, त्यहाँ तितेपाती खेती गरेर वार्षिक ५ लाख रुपैयाँ सजिलै कमाउन सकिन्छ, जसका लागि न त धैरे मल चाहिन्छ, न त सिँचाइको झन्झट नै हुन्छ । इलाममा चिया बगान बने जस्तै नेपालका अन्य भागमा तितेपातीको बगान किन नबनाउने भन्ने उहाँको दृढ प्रश्न छ ।
समग्रमा बलामीले हरेक नेपालीलाई आफ्नो माटो र प्रकृतिको आदर गर्न सिकाउनुभएको छ । उहाँले प्रमाणित गरेर देखाइदिनुभएको छ कि ठुलो उद्यम गर्नका लागि करोडौँको विदेशी मेसिन वा ठुला भवन मात्र चाहिन्छ भन्ने छैन, जसको लागि एउटा सकारात्मक सोँच, स्रोतको पहिचान र निरन्तरको पसिना भए पुग्छ । हिजो मानिसहरूले गोडमेल गरेर मिल्काउने र कुल्चिएर हिँड्ने तितेपाती आज उहाँकै कारण जापानको बजारमा हिमालयन ब्रान्ड का रूपमा गर्वका साथ बिक्ने गरेको छ । उहाँको यो जीवनकथा आजको नेपालका लागि एउटा अमूल्य दस्तावेज हो, जसले प्रत्येक नेपालीको मनमा देशभक्ति, स्वाभिमान र उद्यमशीलताको एउटा नयाँ र कहिल्यै ननिभ्ने ज्योति बालिरहनेछ । ००००









