चर्चित

नेपालीहरूको महान पर्व दसैँ नजिकिँदै छ । मानिसहरूमा हर्ष-उल्लास र खुसी छाउन थालेको छ । धेरैले यो वर्षको दसैँ कसरी मनाउने भने बन्दोबस्त गरिसकेका छन् । तर नेपाली केरा उत्पादक किसानहरूमा भने दसैँ जति नजिकिँदै छ, उति नै चिन्ता बढ्दो छ ।

दसैँका लागि तयार गरेको केरा बिक्री गर्ने समय हुन लाग्यो । २/३ वर्ष अघिका दसैँमा यति बेला केरा बिक्रीका लागि व्यापारीहरूसँग सम्झौता भइसकेको हुन्थ्यो तर यो वर्ष गाउँमा कुनै पनि केरा किसानकोमा एक जना व्यापारी पनि पुगेका छैनन् । भारतबाट आयातित केरा बिक्री वितरणमा नै व्यापारीहरू मस्त छन् । यो समयसम्म पनि व्यापारीसँग केरा बिक्रीको लागि सम्झौता नहुँदा यस वर्षको दसैँ कसरी मान्ने भन्ने चिन्तामा छन्, बर्दियाको गुलरिया नगरपालिका ५ का विष्णु लामिछाने ।

१० वर्षअघि उत्साहका साथ व्यावसायिक केरा खेती सुरु गरेका उनी अहिले निराश छन् । आम्दानी राम्रो हुने र कम जनशक्तिले समेत खेती गर्न सकिने भएकाले ९ बिघाभन्दा धेरै जग्गा भाडामा लिएर उनले केरा खेती गर्दै आएका छन् । तर पछिल्लो समय भारतीय केराले बजार कब्जा गर्दा व्यवसाय नै धरापमा गरेको उनी बताउँछन् ।

 

‘केरा किसानहरूको मुख्य आम्दानी हुने समय भनेको दसैँ हो । दशैका लागि भनेर ७/८ गाडी केरा तयार गरेका छौँ । तर केरा किन्न कुनै पनि व्यापारी आएका छैनन् ।’ उनले दुखेसो गर्दै हलोखबरसँग भने,‘अब यो वर्षको दशै कसरी मान्ने भन्ने चिन्ताले पिरोलिरहेको छ । हाम्रो त आम्दानीको श्रोत भने कै केरा हो । तर यो पटक बिक्री नहोला जस्तो छ ।’

गत वर्षहरूमा यतिखेर केरा बिक्रीका लागि व्यापारिहरुसँग सम्झौता भइसकेको हुन्थ्यो । दसैँ नजिकिएसँगै अहिले भारतबाट ट्रकका ट्रक केरा आयात भइरहेको छ । तर नेपाली किसानले उत्पादन गरेको केरा भने बोटमै कुहिन थालेको छ । भारतबाट आउने केरा सस्तोमा पाइन्छ त्यसैले पनि यहाँ उत्पादन भएको केराले भारतीय केरासँग प्रतिस्पर्धा गर्न नसक्ने लामिछाने बताउँछन् ।

सरकारले किसानको समस्या बुझेर समयमै बजारको ग्यारेन्टी गरिदिनुपर्ने उनले बताए । आज भोलिका लागि तयारी भएको केरा पनि एकदमै सस्तोमा बिक्री गर्नु पर्ने बाध्यता रहेको उनी बताउँछन् । ‘नेपाली किसानले उत्पादन लागत भन्दा एकदमै सस्तोमा बिक्री गर्नु पर्ने बाध्यता छ’ उनले भने,‘सरकारले भारतबाट आयात हुने केरालाई रोकेर नेपालका किसानलाई प्रोत्साहन गर्नुपर्‍यो ।’

विभिन्न प्रकारका रोग किरा, प्राकृतिक विपद्बाट जसो तसो बचेको केरा पनि बिक्री नहुँदा एकदमै समस्यामा परेको उनको भनाई छ । यसरी बर्दिया जिल्लामा मात्र हैन, चितवनका केरा किसानको हालत पनि उही छ । चितवन जिल्ला अझ केरा उत्पादनको हिसाबले अब्बल छ । चितवनमा मात्र वार्षिक १ लाख ७० हजार मेट्रिक टन केरा उत्पादन हुन्छ । दसैँमा केराको माग अत्यधिक हुने हुनाले पनि किसानले दसैँ लक्षित गरेर केरा खेती गरेका हुन्छन् ।

तर नेपाली उत्पादन बढी भएको समयमा नै भारतीय केरा बजार कब्जा गर्दा नेपाली किसान मर्कामा परेको नेपाल केरा उत्पादक महासंघ तथा चितवनका केरा उत्पादक किसान वेद प्रसाद भट्टराईले बताए । उनले दसैँका लागि ३/४ गाडी केरा तयारी अवस्थामा भए पनि बिक्री नभएको गुनासो गरे । भारतीय केराका कारण नेपाली किसान सधैँ मर्कामा परेको उनको भनाइ छ ।

भारतबाट सस्तो मूल्यमा आयात भइरहेकोले नेपालको उत्पादनले लागतअनुसारको मूल्य पनि पाउन सकेका छैनन् । ‘भारतीय केराको भन्सार मूल्य सस्तो भए पनि उपभोक्तासम्म पुग्दा महँगो पर्ने गरेको छ भने अर्कोतिर नेपालमा उत्पादित केराको लागत महँगो भएकाले भारतीय केराले नै बजारमा एकाधिकार जमाइरहेको छ,’ उनले भने। नेपालमा उत्पादन लागत महँगो पर्न जाँदा भारतीय केरासँग प्रतिस्पर्धा गर्न नसकिने उनी बताउँछन् ।

‘हामीले भारतीय केरासँग प्रतिस्पर्धा गर्न सक्दैनौं’ भट्टराईले भने,‘हामीले समयमा मल, सिँचाई, औषधि कहिले पनि पाउँदैनौँ । मल जल बिना राम्रो गुणस्तरीय केरा उत्पादन नै हुँदैन । अनि कसरी प्रतिस्पर्धा गर्ने हामीले ?’  त्यसैले देशमा उत्पादन भएको केराले बजार धानेका बेला भारतीय केराको आयात रोक्नुपर्ने उनको माग छ ।

यता दसैँशैदेखि छठसम्मका लागि पुग्ने केरा नेपालमै उत्पादन भएको पनि नेपाल केरा उत्पादक सङ्घले जनाएको छ ।  नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले दशैदेखि छठसम्मका लागिसम्म करिब साढे ४ लाख मेट्रिक टन केरा तयारी अवस्थामा छ । ‘चाडपर्वका बेला नेपालमै उत्पादित केराले बजार धान्छ । त्यही भएर भारतीय केराको आयात आवश्यक छैन । आफ्नै देशमा उत्पादन भएको केराले बजार धान्छ भने किन भारतीय केरा आयात गर्नु¥यो,’ उनले भने ।

सरकारले प्रत्यक्ष रूपमा आयात रोक्न नसके पनि अप्रत्यक्ष रूपमा रोकन सक्ने उनले बताए । ‘हामीले पुरै भारतीय आयात केरो रोक्नुपर्छ भनेका हैनौँ र भारतीय आयातित केरा रोकेर अस्वाभाविक रूपमा मूल्य बढाउन पनि खोजेका हैनौँ’ अध्यक्ष पन्तले हलोखबरसँग करा गर्दै भने,‘नेपाली उत्पादनले ६० प्रतिशत माग धान्छ भने ४० प्रतिशत आयात गर्नु पर्ने अवस्था छ । तर नेपालमा उत्पादन भएकोले नै माग धान्ने अवस्था छ भने सरकारले थोरै भन्सारमा कडाइ गरिदिनु पर्‍यो ।’

अहिले नेपालमा उत्पादित केराले ४० प्रतिशत पनि बजार पाएको छैन । त्यस कारण सरकारले भारतीय केरा आयातमा एलसी अनिवार्य गर्नु पर्छ । त्यसो गर्दा अग्रिम पैसा जम्मा गर्नुपर्ने हुन्छ र भारतीय केराको आयात कम हुन्छ ।  असोज र कात्तिक केरा व्यापारको मुख्य सिजन हो । यो सिजनमा देशभर ३ लाख ५० हजार मेट्रिक टन केराको माग हुन्छ  । यही सिजनमा नेपालमै करिब ४ लाख मेट्रिक टन केरा उत्पादन हुन्छ ।

बजार मागभन्दा धेरै केरा नेपालमा उत्पादन हुँदा बजारको सधैँ समस्या हुने गरेको छ । उनका अनुसार दैनिक १५–१६ ट्रक केरा भित्रिने गरेकोमा दसैँ नजिकिएसँगै भारतबाट विभिन्न नाका हुँदै दैनिक ३० ट्रकभन्दा धेरै केरा आयात भइरहेको छ । केरा उत्पादक सङ्घले पटक–पटक भारतीय केराको आयात रोक्न कृषि मन्त्रालयमा विज्ञप्तिसमेत बुझाउँदै आएका छन् । तर सरकारले भने केरा किसानलाई बेवास्ता गरेको उनको गुनासो छ ।

अबको २/३ वर्षमा नेपाल केरामा आत्मनिर्भर हुन सक्ने तर बजारको ग्यारेन्टि नहुँदा उत्पादन गर्न डराउँछन् किसान

पछिल्लो समय केरा व्यवसायमा युवाको आकर्षण बढ्दो छ । केरा धेरै प्रचलनमा आउने महत्त्वपूर्ण फलफूल हो । कतिपय अफ्रीकन देशहरूमा यो भातका साटो प्रयोग गरिने बालीमा पर्छ । धान, मकै गहुँको तुलनामा केरा खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । त्यस कारण पनि किसानहरूको रोजाइमा केरा खेती गर्न थालेको छ ।

किसानहरूले चाहेमा अबको २/३ वर्षमा नै नेपाल केरामा आत्मनिर्भर हुन सकने महासंघका अध्यक्ष पन्त बताउँछन् । तर सरकारले बजारको ग्यारेन्टि नगरी दिँदा किसान उत्पादन गर्न नै डराउँछन् । ‘केरामा नेपाल आत्मनिर्भर हुन समस्या नै छैन’ उनले भने,‘अहिले ६० प्रतिशत उत्पादन हुँदा त किसानको बारीमा कुहिएर खेर गइरहेको छ । सस्तोमा बिक्री गर्छु भन्दा त बजार पाएको छैन । अनि धेरै उत्पादन गरेर के गर्ने ?’ उनका अनुसार सरकारले बजार वयवस्थापन गरिदिए केरामा आत्मनिर्भर हुन समस्स्या नै छैन ।

तर बजारको एकदमै समस्या छ । जेठमा मालभोग केरा दर्जनको ९० रुपैयाँ र हरियो केरा ‘जी नाइन’ दर्जनको ६० रुपैयाँमा बारीबाटै बिक्री हुन्थ्यो । तर, भारतीय केराको आयात बढेसँगै अहिले हरियो केरा दर्जनको ३० रुपैयाँ र मालभोग केरा ६० रुपैयाँ दर्जन बेच्नुपर्ने बाध्यता रहेको छ । नेपालमा चितवन, कञ्चनपुर, कैलाली, नवलपरासी, झापा, बारा, मोरङ, सुनसरी, रौतहट, बाँके र बर्दिया लगायत १६ वटा जिल्लामा व्यावसायिक रूपमा केरा खेती हुन्छ ।

आयात रोक्न मिल्दैन : लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालय 

लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयले आयात रोक्न नमिल्ने जनाएको छ । ‘अहिले हामीले कुनै पनि वस्तु सिधै आयात रोक्न सक्दैनौँ ।’मन्त्रालयका सूचना अधिकारी सालिकराम गौतमले भने । रोग, प्रकोप, क्वारेनटाइन नगरेका वस्तुहरुमात्र रोक्न सकिने छ । नभए सिधै हामीले आयातित वस्तु रोक्न नसकिने उनले बताए ।

‘नेपालले धेरै खाद्यन्नहरु आयात गरिरहेको छ । हामीले आयात रोक्दा धेरै कुरामा असर गर्ने देखिन्छ । एउटा वस्तुलाई उकास्न खोज्दा धेरै वस्तुमा समस्या पर्न सक्छ ।’ उनले भने ।

तर  नेपालमा धेरै उत्पादन हुँदा सानो तिनो समस्या देखिएर कम आयात गर्ने उपाय चैँ अपनाउन सक्ने उनको भनाई छ । नेपालको उत्पादनले मात्र नपुगेर नेपालले बाहिरी देशबाट केरा आयात गरिरहनु पर्ने अवस्था रहेको छ । उत्पादन  भए पनि नेपालको महँगो र भारतको सस्तो पर्छ । यस्तो भइसकेपछि उपभोक्ताले सस्तो खोज्ने भए । उपभोक्ताले सस्तो खोज्दा व्यापारीहरूले भारतबाट आयात गर्ने भए । यस्तो समस्या रहेको उनले बताए ।

यसका साथै प्रदेश मन्त्रालयले केरा उत्पादन वृद्धिका लागि केरा ब्लक, पकेटको कार्यक्रम लागु गरेको पनि जानकारी दिए । केरा उत्पादन लागत धेरै छ । यस्तो अवस्थामा किसानलाई हामीले मल खादमा सहुलियत दिनु पर्ने हो । तर यो सङ्घीय सरकारको काम हो । यी कुरामा सरकारले सहयोग गर्ने हो भने किसानको लागत कम हुन्थ्यो र केही सस्तो पर्न जान्थ्यो ।

केराको बजार व्यवस्थापनमा भने सरकार चुकेको उनले स्वीकार गरे । ‘यसमा हामीले ठुलो मात्रामा सहयोग गर्न सकेका छैनौँ । यसका लागि हामीले प्रादेशिक कृषि विकास रणनीति बनाउँदै छौँ । कृषि विकास रणनीतिमा केरा खेती गर्ने किसानलाई पनि हामी समेट्छौँ । पछि यसले केही हदसम्म सहयोग गर्छ’ उनले भने,‘ अहिले तत्कालका लागि यो विषयमा किसानहरूलाई सहयोग गर्न सक्दैनौँ ।’ यो विषयमा प्रदेशले मात्र नभई सङ्घीय तथा स्थानीय तहले पनि पहल गर्नु पर्ने देखिन्छ ।

हलोखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय