काठमार्डौँ, १८ साउन । नेपाली ठूलो गोलभेँडाको मूल्य निरन्तर बढ्दै गएको छ । हिजो अधिकतम प्रतिकेजी १ सय ५० रुपैयाँमा कारोबार भएको नेपाली ठूलो गोलभेँडा आज अधिकतम प्रतिकेजी १ सय ८० रुपैयाँ कायम गरिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
यस्तै गोलभेँडाको न्यूनतम मूल्य आज १ सय ६० रुपैयाँ रहेको छ । जबकि हिजो यसको न्यूनतम मूल्य १ सय ४० रुपैयाँ रहेको थियो ।
यसरी हेर्दा गोलभेँडाको मूल्य निरन्तर बढेको देखिन्छ । तर किसानले भने १ सय ८ रुपैयाँमा यही गोलभेँँडा बिक्री गरिरहेका छन् । काठमाडौँको चन्द्रागिरीका किसान प्रदीप तामाङका अनुसार किसानले प्रतिक्रेट २ हजार ५ सय रुपैयाँमा बिक्री गरिरहेका छन् । एक क्रेट गोलभेँँडाको वजन २३ किलो हुन्छ ।
यस्तै गोलभेँँडा सानो (टनेल) को प्रतिकेजी रु ९४ न्यूनतम र १ सय १० रुपैयाँ अधिकतम कायम भएको छ । जबकि हिजो प्रतिकेजी रु ५० न्यूनतम र ६० रुपैयाँ अधिकतममा कारोबार भएको थियो ।
आज बजारमा रातो आलुको मूल्य प्रतिकेजी रु ४८ रुपैयाँ कायम भएको छ भने अधिकतम मूल्य रू ५० मा कारोवार भएको समितिले जनाएको छ । त्यस्तै रातो (मुडे) आलुको मूल्य प्रतिकेजी नेपाली रुपैयाँ ४० न्यूनतम र रू ४२ अधिकतम मूल्य कायम भएको छ ।
यसैगरी भारतबाट आयात गरिएको सुकेको प्याजको मूल्य न्यूनतम ४५ र अधिकतम ४८ रुपैयाँमा कारोबार भइरहेको छ ।









