काठमाडौँ, १९ साउन । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाक अनुसार मनसुनी रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले तराई–मधेशका जिल्लाहरुमा पानी पर्ने सम्भावना रहेको छ । भोलिदेखि मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
अहिले पानी पार्ने मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भागतिर अवस्थित छ । उक्त रेखा नेपालको पूर्वी भागतिर पनि केही दिनमै सरदर स्थानभन्दा उत्तरतर्फ सर्ने क्रममा छ ।
महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । आज राति भने बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई भूभाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।









