काभ्रे, २३ साउन । काभ्रेपलाञ्चोकमा उत्पादन भएको कफी जापानमा निर्यात हुँदै आएको छ । पछिल्लो ३ वर्षदेखि जिल्लाका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको हो ।
यहाँको विकट डाँडापारि क्षेत्रमा पर्ने महाभारत गाउँपालिकामा उत्पादन भएको कफी हिमालयन लक्जरी विन्स कम्पनीले जापान निर्यात गर्दै आएको हो ।
कम्पनीका सञ्चालक गुणबहादुर लामाका अनुसार यस क्षेत्रमा उत्पादित कफी राम्रो र गुणस्तरीय छ । जसलाई जापानीहरूले खुबै रुचाएका छन् । यसकारण यहाँको कफी जापानीरूको रोजाइमा पर्ने गरेको छ ।
जापानका यशुके कुशेहवाले गाउँगाउँमा गएर कफी उत्पादक किसानलाई प्रशोधनको विधि र गुणस्तर कफी बनाउनबारे तालिम दिँदै आएका छन् ।
जापानको कलरवाथ नामक संस्थाले बनेपामा रहेको विन्ससँग समन्वय गरी कफी सङ्कलन गरिरहेको छ । यसरी संकलित कफी संस्थाले नै प्रशोधन गरेर निर्यात गरिरहेको हो ।
जापानको बजारमा अरू देशको कफीको तुलनामा नेपाली कफी महँगोसमेत रहेको जनाएको छ ।
लामाका अनुसार व्यावसायिक रूपमा उत्पादन कम भए पनि वार्षिक १ हजार ५ सय केजी निर्यात हुँदै आएको छ । लामाले भने, “फोक्सिङटारको ठूलो पोखरामा उत्पादन गरेको कफी निर्यात गर्दै आएकामा पछिल्लो समय कोशीपारिको चौँरीदेउराली र खानीखोला गाउँपालिकाका किसानले उत्पादन गरेको कफीलाई पनि निर्यात गर्दै आएका छौँ ।” यसरी कफी निर्यातबाट वार्षिक २५ लाख आम्दानी हुने गरेको लामा बताउँछन् ।
किसानबाट गुणस्तरीय कफी उत्पादन गराउनका लागि टिप्ने तरिकादेखि प्रशोधन र बजारसम्म सुरक्षित लैजानेबारे किसानलाई तालिम दिने गरिएको छ ।
लामाका अनुसार डाँडापारिको ठूलो पोखरामा फल पाकेपछि टिपेर बोक्रा फाल्ने पल्पिङ सेन्टरसमेत स्थापना गरेको छ । यहाँबाट उत्पादन भएको कफी प्रशोधन गरी बनेपामा ल्याउने गरिएको छ । संस्थाका अनुसार किसानको बारीबाट टिपेर ‘पल्पिङ’ गरेको कफी गुणस्तर हेरी प्रतिकेजी ५ सयदेखि ६ सयसम्ममा खरीद हुँदै आएको छ ।
उनका अनुसार एक पटक रोपेको बिरुवाले ५० वर्षसम्म आम्दानी दिने गरेको छ भने एक रोपनीमा २५ देखि ३० हजारसम्म कमाइ हुन्छ ।
कफीबाट राम्रो आम्दानी हुने देखिएपछि महाभारत गाउँपालिकाले किसानलाई अनुदानमा कफीको बिरुवा वितरण गरेसँगै किसानहरू यस खेतीतर्फ अग्रसर भएका छन् । उनीहरूको आम्दानीको वैकल्पिक स्राेतका रूपमा कफीको भूमिका बढ्दै गएको छ ।
किसानको आर्थिक उपार्जनको वैकल्पिक व्यवसाय कफी हुने भएकाले आम्दानीको स्रोत बढाउन पालिकाले अनुदान दिने गरेको अध्यक्ष कान्छालाल जिम्बाले बताएका छन् ।









