चर्चित

सुन्दर रावत, हुम्ला, साउन २३ गते । नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको उडानका लागि नयाँ नियम लागू गर्दा कर्णालीका हिमाली जिल्लामा उडान प्रभावित हुँदै आएका छन् ।

हिमाली जिल्लाका विभिन्न विमानस्थलको उडान तालिकाअनुसार मात्र उडान भर्नुपर्ने नियम लागू भएसँगै दैनिक उडान प्रभावित हुँदै आएका हुन् ।

हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बिहान बाक्लो कुहिरो लाग्ने, पानी पर्ने र बादल लाग्ने भएका कारण एक सातायता दैनिक हवाई सेवा अवरुद्ध हुँदै आएको बताए । उनले प्राधिकरणले हवाई उडानका लागि नयाँ नियम लागू गरेपछि उडान प्रभावित हुने गरेको बताउँदै उडान नहुने चिन्ता थपिएको बताए ।

प्राधिकरणले साउन दोस्रो साताबाट आन्तरिक हवाई उडानका लागि उडान तालिकाको समयबाहेक अन्य समयमा उडान भर्न नपाउने नियम लागू गरेको छ । उाले बर्खाको मौसममा बिहान ११–१२ बजेसम्म मौसम बिग्रिने र १२ बजेपछि मौसममा सुधार आउने भए पनि नयाँ हवाई उडान नियमअनुसार सिमकोट विमानस्थलका लागि १२ः३० बजेपछि उडान भर्न नपाउने भएकै कारण समस्या देखिएको बताए ।

कर्णालीका हुम्लाको सिमकोट, मुगुको ताल्चा, डोल्पाको दुनै, सुदूरपश्चिमको बाजुराको कोल्टी विमानस्थलका लागि बिहान ६ बजेबाट दिउँसो १२ः३० बजेसम्म उडान भर्ने नयाँ कार्यतालिका रहेको छ ।

हवाई सुरक्षाका लागि नयाँ नियम राम्रो भए पनि हिमाली जिल्लाका लागि यो नियम व्यावहारिक नभएकोसमेत उनले बताए । उनले बाध्यता र अवस्था नबुझेर नयाँ कार्यतालिका लागू गर्दा कर्णालीका बासिन्दा मर्कामा परेको बताए ।

कर्णालीका हुम्लाको सिमकोट, मुगुको ताल्चा, डोल्पाको दुनै, सुदूरपश्चिमको बाजुराको कोल्टी विमानस्थलका लागि बिहान ६ बजेबाट दिउँसो १२ः३० बजेसम्म उडान भर्ने नयाँ कार्यतालिका रहेको छ । यी विमानस्थलमा चार दिनदेखि लगातार उडान हुन सकेको छैन । समिट एयर सिमकोट स्टेसनका प्रबन्धक गोविन्द लामाले प्राधिकरणको नयाँ नियम हिमाली जिल्लामा उडान भर्न समस्या देखिएको गुनासो सुनाए ।

सडक सञ्जाल नजोडिएको माथिल्लो हुम्लाका लागि हवाई सेवाभन्दा यात्रुलाई अन्य विकल्प नभएका कारण पनि अहिले लागु भएको नियममा संशोधन गर्न आवश्यक रहेको उनले बताए । समिट र तारा एयरले चार दिनदेखि सिमकोटका लागि उडान भर्न सकेका छैनन् । उनले बर्खामा ११.१२ बजेपछि मात्र मौसममा सुधार आएर उडान भर्न सकिने अवस्था रहेको बताउँदै उडान भर्ने तालिकामा मौसम सुध्रिन लाग्ने र मौसममा सुधार आएको समयमा उडान तालिका सकिने भएको कारण महिनौँसम्म उडान नहुने सम्भावना बढी रहेको बताए ।

नयाँ उडान तालिका कार्यान्वयनमा आएसँगै उडान प्रभावित हुँदा यात्रु मर्कामा परेका छन् भने कार्गो सामानसमेत ढुवानी हुन नसक्ने अवस्था आएको छ । सीता एयर नेपालगन्जका बजार प्रबन्धक सन्दीप भण्डारीले कर्णालीका हिमाली जिल्लामा अहिलेको नयाँ उडान नियम उपयुक्त नभएको बताए । उनले हवाई सुरक्षाका लागि नियम आफ्ना ठाउँमा ठिक भए पनि हिमाली जिल्लामा १२ः३० बजेपछि मात्र मौसम सुधार भएर उडान हुने भएका कारण समस्या देखिएको बताए । अहिलेको नियमले कर्णालीका जुम्ला र सुर्खेत जिल्लामा मात्र उडान हुने देखिएको छ ।

जुम्लाको उडान तालिका बिहान ६ बजेबाट बेलुका ४ बजेसम्म रहेको छ । उनले यस हिसाबले कर्णालीका हिमाली जिल्लामध्ये जुम्लाबाहेक अन्य विमानस्थलमा उडान प्रभावित भइरहेको बताए । हवाई सुरक्षालाई सुरक्षित बनाउनका लागि प्राधिकरणले नयाँ नियम कार्यान्वयन ल्याएको र यसलाई केही समयसम्म कार्यान्वयनमा रहने परिपत्र आएको सिमकोट विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय