चर्चित

काठमाडौँ, २३ साउन । भारतबाट हुने अवैध दूधको आयात रोक्न माग गरिएक‍ो छ । सरोकारवालाहरूले झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेलाई भेटी भारतबाट भित्रिने अवैध दूध नियन्त्रण गर्न अनुरोध गरेका हुन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादव, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल, महासचिव हेमचन्द्र खनाल, रितिका डेरीका योगेन्द्र चिमोरिया र एसोसिएसना इलाम जिल्ला अध्यक्ष लक्ष्मी थापाको टिमले भारतबाट हुने अवैध दूधको आयात र‍ोक्न माग गरेका हुन् ।

भारतीय सीमाबाट अवैध रूपमा दूध तथा दुग्धजन्य पदार्थ आयात हुँदा नेपाली दुग्ध उत्पादक कृषकहरू समस्यामा छन् । जसका कारण नेपाली किसानहरूले उत्पादन गरेको दूधको खपत घटेको छ ।

दूधको खपत घटेसँगै किसानले उत्पादन गरेको दूधले बजार नपाउँदा दूध खेर गइरहेको छ । किसानको दूध खेर जाँदा उनीहरूको आयमा समेत असर परेको छ ।

यतिमात्रै होइन, अहिले लम्पी स्किन रोगका कारण भारत पनि प्रभावित छ । यस्तो बेला झन् सीमानाकाबाट अवैध रूपमा दूध भित्रिँदा थप जोखिम समेत बढेको छ ।

यस्तो अवस्थामा अवैध रूपमा भित्रिने दूध तथा दुग्ध पदार्थ नियन्त्रण गरी नेपालमा उत्पादित दूधलाई संरक्षण गर्दै किसानलाई राहत दिलाउन पहल थालिएको छ ।

महासचिव खनालका अनुसार यो अभियान भारतसँग सीमा जोडिएका देशैभरका जिल्लामा हुनेछ । अब यति गर्दा पनि सरकारले एक्सन लिएन भने किसानलाई साथमा लिई आफैँ फिल्डमा निक्लने अध्यक्ष दाहालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय