काठमाडौँ, २६ साउन । आज २४ औँ अन्तर्राष्ट्रिय युवा दिवस । यस सन्दर्भमा युवा सांसदहरूले युवाका लागि बनेका कानुन कार्यान्वयनमा समस्या रहेको बताएका छन् ।
सांसद प्रदीप पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकबाट युवाले ऋण पाए त ? भन्दै प्रश्न गरेका छन् । “सामाजिक उत्तरदायित्वअन्तर्गत नक्कली कृषकले ऋण लगेका छन्”, उनले भने, “प्रणालीभन्दा पहुँचका आधारमा काम हुने भएकाले युवामा वितृष्णा बढेको छ ।”
सोही अवसरमा सांसद माधव सापकोटाले कृषिलाई आधुनिकीकरण र राज्यले संरक्षण गर्ने हो भने युवाका समस्या केही हदसम्म भए पनि समाधान हुने बताए ।
युवा परिषद्को आयोजनामा यस वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सीप विकास’ नाराका साथ दिवस मनाइँदै छ ।
नेपालमा बर्सेनि साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्त १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । राष्ट्रिय जनगणना, २०७८ अनुसार युवाको जनसङ्ख्या ४२ दशमलव ५६ प्रतिशत छ ।









