काठमाडौँ, २७ साउन, । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै सरेकाले आज दिउँसोदेखि अझै धेरै पानी पर्ने पूर्वानुमान छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको र भारत उत्तरप्रदेशको बिहार आसपासमा न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले अघिल्ला दिनको तुलनामा बढी पानी पर्ने प्रक्षेपण छ ।
पानी पार्ने न्यूनचापीय रेखा नेपालको अझै नजिक सर्ने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागले आज दिउँसोदेखि पानी पर्ने क्रम झन् बढ्ने जनाएको छ ।
अहिले सातै प्रदेशमा सामान्यदेखि पूर्णतया बदलीको अवस्था छ । यस्तो अवस्था सोमबारसम्मै रहने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज देशका अधिकांश नदीहरुको बहाव उल्लेख्य बढ्ने जनाएको छ । भोलि बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, भेरी र महाकाली नदी तथा यी नदीका सहायक नदी तथा खोलाहरुको बाढी सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ ।









