बिर्तामोड, ३० साउन । भारतले २०२३ अगस्ट ५ देखि अक्टोवरसम्म टमाटर आयात खुला गरेपछि नेपाली व्यापारीहरूले टमाटर निर्यात गर्दै आएका छन् ।
जसमध्ये झापा बिर्तामोडका व्यापारी खगेन्द्र महतो पनि एक हुन् । महतोले नेपाली किसानबाट टमाटर खरीद गरेर भारतमा बेच्दै आएका छन् ।
तर महतोले ५ पिकअप टमाटर बिक्री गर्दा ११ लाख रुपैयाँ नोक्सानी बेहोरेका छन् ।
यस्तो छ घटनाक्रम
गत साउन २४ गते महतो भारतीय बजारमा टमाटर बिक्री गरेर नेपालतर्फ फर्किरहेका थिए । फर्किने क्रममा सोही दिन राति साढे ८ बजे मेची पुलमा उनी पक्राउ परे ।
व्यापारी महतोलाई भारतमा टमाटर बिक्री गरेर नेपाल फर्किने क्रममा सशस्त्र प्रहरी गुल्म काँकडभिट्टाले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको थियो ।
सोही दिन मध्यरातमा सशस्त्रले महतोलाई राजस्व अनुसन्धान इटहरी पुर्याएको थियो । सशस्त्रले भन्सारको कागज ल्याउन भने । त्यसपछि महतोले भन्सार गरेको कागजात पनि बुझाए । तर प्रहरीले मानेन ।
भन्सार गरेर ११ हजार ४ सय केजी टमाटर भारतीय बजारमा बिक्री गरेर फर्किने क्रममा महतोले साढे ३ लाख भारतीय रुपैयाँ बोकेर आएका थिए । उनले भारु १ सय, २ सय र ५ सयका नोट ल्याएका थिए ।
सशस्त्रले प्रतिबन्धित नोट बोकेको कारण नियन्त्रणमा उनलाई लिएको थियो । १ सयभन्दा माथिको भारतीय रुपैयाँ नेपालमा प्रतिबन्धित छ । उनले ल्याएका नोट प्रतिबन्धित भएका कारण उनी पक्राउ परेका हुन् । तर पछि महतो राजस्व अनुसन्धान इटहरीमा ५ लाख ६० हजार ५२५ रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
नेपालमा उत्पादन भएको गोलभेँडा भारतमा निर्यात हुन थालेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । साउन २८ गतेसम्ममा काँकडभित्ता र भैरहवा नाकाबाट गरी करिब ३० मेट्रिक टन गोलभेँडा निर्यात भएको छ । गोलभेँडा, हरियो मटरकोसा, हरियो खुर्सानीलगायत तरकारी बालीलाई भारतको प्लान्ट क्वारेन्टाइन अर्डर सूचीमा समावेश गरी निकासलाई सहजीकरण गर्न नेपालबाट पटक पटक अनुरोध गर्दै आएको थियो ।
भारतले सर्तसहित निश्चित समयलाई आयात खुला गरेको भन्ने जानकारीअनुसार भारत निकासी हुन सुरु भएको मन्त्रालयले जनाएको छ । यसलाई निरन्तरता दिन थप पहल हुन सकेमा व्यापार घाटा कम हुने तथा बजार विस्तार भई कृषकले समेत राम्रो मूल्य पाउने सम्भावना रहेको जनाइएको छ ।









