चर्चित

हेटौँडा, ३० साउन । मकवानपुरगढी गाउँपालिका वडा नं ४ कालीखोला क्षेत्रमा कोदो रोपाइँ शुरू भएको छ । मकै भाँचेपश्चात् पानी परेसँगै कृषकहरूले कोदो रोपिरहेका हुन् ।

कोदो रोपाइँका लागि कृषकले जग्गाको तयारी पनि गरिरहेका गाउँपालिकाको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताएका छन् ।

गाउँपालिकाकी कृषक कुमारी लामाले गत वर्ष १० कठ्ठामा कोदो रोपेकोमा ६ सय केजी उत्पादन भएको थियो । जसबाट उनले ४ सय ५० केजी बिक्री गरेको बताइन् । यस वर्ष पनि उनले १० कठ्ठामा नै कोदो रोपिरहेकी छिन् । अर्का कृषक झिल्लीप्रसाद दुलालले पनि गत वर्ष १० कठ्ठा जग्गामा कोदो लगाएका थिए । जसबाट ५ सय केजी उत्पादन भएको थियो । जसमध्ये ३ सय केजी कोदो नजिकै रहेको अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थामा बिक्री गरेको उनले बताए । यस वर्ष पनि उनले १० कठ्ठामा कोदो रोपिरहेका छन् ।

यहाँका अर्का कृषक सुकुमबहादुर घलानले १ बिघा १० कठ्ठा जग्गामा कोदो लगाउने योजना रहेकोमा करिब ८ कठ्ठामा रोपिसकेको र बाँकी जग्गामा रोप्ने तयारी भइरहेको जानकारी दिए । यस भेगका अधिकांश कृषकहरूले मकैबालीपछि कोदो खेती गर्दै आइरहेका चौधरीले बताए ।

यस क्षेत्रका कृषकहरूले उत्पादन गरेको कोदो अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाले ३ वर्षदेखि गाउँपालिकाले तोकेको मूल्यमा खरिद गर्दै आइरहेको छ । कृषकहरुबाट खरीद गरी संकलन तथा भण्डारण गरेको कोदो सहकारी संस्थाले मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको सहयोगमा कालीखोला ब्रान्डको कोदोको पिठो प्याकेजिङ गरी बजारमा ल्याइसकेको छ । अहिले पनि सहकारी संस्थामा करिब ४ हजार मेटन कोदो स्टकमा रहेको सहकारीका अध्यक्ष दिलबहादुर योञ्जनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय