कञ्चनपुर, ३१ साउन । स्वदेशमा रोजगारीको अवसर नभएको भन्दै कञ्चनपुरमा विदेशिनेको संख्या अत्याधिक छ । यो निरन्तर बढ्दै गएको छ ।
नेपालीहरू खेत बाँझो राखेर विदेश गइरहँदा नेपालका खेतमा भने भारतीय नागरिकहरूले खेतीकिसानी गर्दै आएका छन् ।
भारतीयहरूले परिवारसहित नेपाल आएर बर्षेनि लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।
यिनैमध्ये एक हुन्, कार्तिक मण्डल । मण्डल भारतको नौजलियाका बासिन्दा हुन् । नौजलिया गाउँ नेपालको दोधारा–चाँदनी नगरपालिका–१० कुतियाकबरको पारिपट्टि पर्छ ।
नौजलियामा उनीसँग बसोबासका लागि एउटा सानो झुप्रोबाहेक खेतीका लागि जमिन छैन ।
यसकारण उनले नेपाललाई जीविकोपार्जनको गन्तव्य बनाएका छन् । भारतीय बस्ती नौजलिया र नेपाली बस्ती कुतियाकबरको भू(भाग भौगोलिक रूपमा जोडिएको मात्र छैन । यहाँका स्थानीयको रोजीरोटी पनि एकापसमा जोडिएको छ । मण्डलजस्ता धेरै भारतीय नागरिक कुतियाकबरमा तरकारी खेती गरिरहेका छन् ।
मण्डलले कुतियाकबरमा तरकारी खेती गर्न थालेको १० वर्षभन्दा बढी समय भइसक्यो । “खेतीका लागि आफूसँग जमिन छैन, दुई बिघा जमिन भाडामा लिएर तरकारी गरिरहेको छु”, उनी भन्छन्, “यसैबाट घरखर्च चल्छ ।” उनले वार्षिक १२ हजार रुपैयाँ जमिनको भाडा तिर्ने बताए ।
तर अहिले महाकाली नदीले जमिन कटान गरेर एक बिघा मात्रै बाँकी राखेको रहेछ । कञ्चनपुरमा महाकाली नदीले बर्षेनि जग्गा कटान गर्दै आएको छ । जसमा उनले भाडामा लिएको जग्गा पनि नदीले कटान गरेको हो । मण्डलले खेतमा परबलका साथै भिण्डी, खुर्सानी र हल्दी रोपेका छन् ।
यस्तै नौजलियाकै पुलिन बआडले पनि कुतियाबरमा जमिन भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । उत्पादित तरकारीलाई बिक्रीका लागि भारतीय बजार तथा महेन्द्रनगरतर्फ लैजाने गरेको उनले बताए ।
धान, गहुँ, तरकारी, परवल र बदामको खेती गर्ने गरेको उनले बताए । मण्डलका अनुसार परवल प्रतिकिलोग्राम रु ३५ देखि ४० सम्म बिक्री हुने गरेको छ ।
एक कट्ठा जग्गामा एक हप्तामा दुई क्विन्टलसम्म परवल उत्पादन हुने गरेको मण्डलले बताए ।









