चर्चित

ढोरपाटन, ३२ साउन । बागलुङको निसीखोला गाउँपालिका ५ कारिगाउँका धर्मराज पोखरेलले गाउँमा कृषि कर्मबाट मनग्य आम्दानी गरिरहेका छन् । पोखरेल पनि १२ वर्ष अगाडिसम्म विदेशमै थिए । पच्चीस वर्ष भारत र दुई वर्ष कतारमा पसिना बगाएका उनले १० वर्षदेखि व्यावसायिक कृषि कर्ममा लागेका थिए ।

पोखरेल बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीमै काम गर्छन् । उनको बारीमा कागती, सुन्तला, टिमुर लटरम्म फलेका देखिन्छन् । अहिले तीन सय बोट कागती, झन्डै एक सय सुन्तला र २५ टिमुरका बाट रहेका पोखरेलले जानकारी दिए । उनका अनुसार सबै बोटमा फल लागेका छन् ।

‘कागती खेतीलाई विशेष प्राथमिकतामा राखेको छु । कागतीसँगै सुन्तला र टिमुर उत्पादन राम्रै भइरहेको छ’, पोखरेलले भने, ‘बोटबाटै रू एक सयमा कागती बिक्री हुन्छ ।’

उनले कागतीको माग पहिलेको तुलनामा अहिले बढे्को भन्दै यहाँ उत्पादित कागती स्थानीय बजारका साथै बुटवलसम्म जाने गरेको बताए । यस वर्ष रू १३ लाख बढीको कागती, सुन्तला र टिमुर बिक्री भएको उनले जानकारी दिए ।

वर्षभरी घरपरिवारसँगै बसेर काम गर्दा लाखौँ आम्दानी गर्न सकिने भएकाले विदेश गएर परिश्रम गर्नुभन्दा स्वदेशमै स्वरोजगार बन्नु उपयुक्त हुने पोखरेलले सुझाव दिए । कागतीसँगै यसबाट बनेको काँचो तथा पकाएको चुकसमेत बजारमा पठाउने गरेको उनले बताए ।

कागती खेतीमा कृषकको राम्रो भविष्य रहेको जनाउँदै उनले यो बहुउपयोगी हुनेहुँदा धेरै ठाउँबाट माग आउने गरेको बताए । गाउँमा भएका बाँझो जमिनमा पनि कागती खेती विस्तार गर्ने योजना रहेको पोखरेलले सुनाए ।

निसीखोला ४ झिम्पाका रेमबहादुर क्षेत्रीले १८ वर्ष कतारमा बिताए । लामो समय विदेशमा बिताउँदा नपाएको खुसी अहिले आफ्नै बारीमा कागती खेती गरेर पाएको उनले अनुभव सुनाए ।

हाल चार सय कागतीका बोटमध्ये दुई सयले फल दिन थालेका क्षेत्रीले बताए । उनका अनुसार बारीमा कागतीसँगै एभोकाडो र टिमुरका बोट पनि छन् । सात वर्षदेखि व्यावसायिक रुपमा कागती खेती थालेका क्षेत्रीले यस वर्ष रू चार लाख बराबरको बिक्री गरेको जानकारी दिए ।

‘विदेशमा धेरै दुःख गरियो, सुख मिलेन । अहिले परिवारसँगै बिहान बेलुका आफ्नै बारीमा काम गर्छु, फलफूलसँगै रमाउछु, आम्दानी पनि राम्रो हुँदै गएको छ’, उनले भने, ‘पहिले बाध्यताले विदेश गएँ, पैसा आफ्नै बारीमा कमाउन सकिने रैछ ।’

क्षेत्रीले सात वर्षदेखि कागती खेतीमा लगानी गर्दै आएको जनाउँदै अहिले प्रतिफल आउन थालेको बताए । उत्पादित कागती बिक्री हुन थालेपछि जीविकोपार्जनमा सहज भएको उनको भनाइ थियो ।

समुद्री सतहबाट एक हजार पाँच सय मिटरसम्म कागती खेतीको राम्रो सम्भावना रहेका कृषि ज्ञानकेन्द्र बागलुङले जनाएको छ । जिल्लामा ४० हेक्टर क्षेत्रफलमा कागती खेती गरिँदै आएको केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय