गलकोट, ४ भदौ । बागलुङको गलकोट नगरपालिकाले दरमखोलाका माछा मार्न रोक लगाएको छ। दरमखोलाको असला माछा लोप हुने खतरा बढेको भन्दै माछा मार्न रोक लगाइएको नगरपालिकाले जनाएको छ।
दरमखोलाको माछा नेपालमै चर्चित र स्वादिष्ट रहेको तथा गलकोटको पहिचानसँग जोडिएको भन्दै संरक्षणका लागि माछा मार्न रोक लगाइएको हो। दरमखोलाका माछाको माग उच्च भएपछि गैरकानूनी र परम्परागत दुवै तरिकाले माछा मार्न रोक लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर भुजेलले जानकारी दिए।
दरमखोलाको असला माछाको संरक्षण र दीगो उपयोगिताका लागि जलचर संरक्षण नीति, कार्यक्रम र बजेटसमेत ल्याइएको जनाउँदै भुजेलले भदौ र असोजमा दरमखोलामा माछा मार्न पूर्णरुपमा प्रतिबन्ध लगाइएकाले अटेरी गर्नेलाई जरिवाना गरिने बताए। ‘यहाँको पहिचानसँग जोडिएको दरमखोलाको असला माछा संरक्षण गर्ने नगरपालिकाको नीति छ, नगरपालिकाले जलचर संरक्षण कार्यविधि २०८० बनाएर कार्यान्वयन थालेको छ’, उनले भने, ‘विशेषगरी वर्षा ऋतुमा असला माछाले फुल पार्ने अवधि भएकाले भदौ र असोजमा माछा मार्न प्रतिबन्ध लगाइएको हो, प्रतिबन्धको उल्लंघन भए कार्यविधिको दफा १४ बमोजिम एक लाख रूपैयाँसम्म जरिवाना गर्नेछौँ ।’









