एग्रोटाइम्स, काठमाडौँ, ५ भदौ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५, बुङदल स्कूलडाँडाका ५८ वर्षीय कृषक वीरमान मोक्तानले अदुवा खेती गर्दै आएका छन् ।
यस वर्ष उनले १४ क्वीन्टल अदुवा लगाएका थिए । अहिलेसम्मको हिसाब गर्दा १२ क्वीन्टल ब्रुनी (माउ) निकालेर बेचिसकेको उनले बताए ।
यस वर्ष राम्रो मूल्यमा अदुवा बिक्री भएको मोक्तानले बताएका छन् ।
मोक्तानले करिब ८ वर्षअघिदेखि अदुवा खेती गर्दै आएका छन् । त्यसबेला ८० क्वीन्टलसम्म आफैँले अदुवा बेचेको उनी बताउँछन् । ‘पहिले यहाँका अधिकांश कृषकहरूले अदुवा खेती लगाउनुहुन्थ्यो । अहिले थोरै-थोरै जग्गामा मात्र कृषकहरूले अदुवा खेती गरिरहेका छन् ।’ उनी भन्छन् ।
तर पछिल्लो समय बाँदरको समस्याले गर्दा फेरि पनि अदुवा खेतीतर्फ फर्किनु पर्ने अवस्था आएको मोक्तानको भनाइ छ ।
अहिले मकै र सिमी लगाउँदा बाँदरले सखाप बनाउन थालेको उनको भनाइ छ । बाँदरबाट बाली बचाउनका लागि उनले यस वर्ष एक बिघा जग्गामा अदुवा लगाएका थिए । मोक्तानले आगामी वर्ष थप क्षेत्रफल विस्तार गर्ने लक्ष्य रहेको बताएका छन् ।
तर बाँदरबाट जोगिन अदुवा खेती गरे पनि अहिले अदुवा कुहिने समस्या देखिन थालेको छ । ‘बाँदरबाट बाली जोगाउन अदुवा खेती गरियो तर उही गानो कुहिने रोगको समस्या छ ।’ मोक्तान भन्छन्, ‘बाँदरले बाली सखाप पारेपछि अदुवा खेती गरियो, अदुवामा गानो कुहिने रोग लागेपछि के गर्ने ?’
करिब ८-१० वर्षअगाडि साविक आमभञ्ज्याङ र मकावानपुरगढी गाविस अदुवा खेतीको पकेट क्षेत्रका रूपमा परिचित थियो । अदुवाबालीमा गानो कुहिने रोगका कारण किसानहरु अदुवा लगाउन छोडेर क्रमश: मकै र सिमीलगायतका अन्य बालीहरू लगाउन थाले ।
त्यसपछि बाँदरले बाली सखाप पार्न थालेपछि कृषकहरू पुन: अदुवा खेतीतर्फ फर्किए । तर अहिले फेरि अदुवामा गानो कुहिने समस्या देखिएपछि किसान चिन्तित छन् ।
अदुवाबालीमा गानो कुहिने रोगको शुरुवात भएको देखिएकाले रोकथामको उपायहरूको बारेमा प्राविधिक सल्लाह दिने कार्य भइरहेको पालिकाका कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताएका छन् । पालिकाले कृषि व्यवसायका लागि अगामी दिनमा थप प्राविधिक सेवा उपलब्ध गराउने तयारी गरेको छ ।









