काठमाडौँ । नेपालमा रहेका कृषक परिवारको संख्या ९ प्रतिशतले घटेको देखिएको छ । कृषिगणना २०७८ अनुसार जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको हो ।
जबकि अघिल्लो कृषिगणनाले यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो ।
राष्ट्रिय तथ्याङ्क कार्यालय (साविकको केन्द्रीय तथ्याङ्क विभाग) ले २०७८ चैत्र १ गते देखि ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौँ राष्ट्रिय कृषिगणनाको स्थलगत तथ्याङ्क सङ्कलन कार्य सम्पन्न गरेको थियो । उक्त तथ्यांकअनुसार कृषक परिवारको संख्या घटेको देखिएको हो ।
वैज्ञानिक विधिबाट ३ लाख ३० हजार १ सय १२ कृषक परिवारहरू छनोट गरी कृषक परिवार प्रश्नावलीमार्फत कृषि तथा पशुपन्छीसम्बन्धी विस्तृत विवरण संकलनका लागि ५ हजार १ सय ५० गणक, १ हजार ३ सय ५० सुपरीवेक्षक तथा ७७ कृषिगणना अधिकृतसहित करिब ७ हजार २ सय कर्मचारी प्रत्यक्ष र परोक्ष रूपमा परिचालन भएका थिए ।
कृषिगणना २०७८ अनुसार नेपालमा जम्मा ४१,३०,७८९ कृषक परिवारले २२,१८,४१० हेक्टर जग्गामा कृषि कार्य गरेको देखिएको छ । अघिल्लो कृषिगणना २०६८ अनुसार ३८,३१,०९३ कृषक परिवारले २५,२५,६३९ हेक्टर जग्गामा कृषि कार्य गरेको देखिएको थियो ।
कृषिगणना २०७८ अनुसार कृषक परिवारले १२,०९, २६५.५ हेक्टर जग्गामा सिँचाइ सुविधा लिएको देखिएको छ । यी कृषक परिवारअन्तर्गतको जम्मा जग्गामध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाइ सुविधा उपयोग भएको देखिन्छ ।
तर अघिल्लो कृषिगणना २०६८ मा सिँचाई सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो । यसरी नै यो गणनाका अनुसार सिँचाइ सुविधा लिएका कृषक परिवार ७० प्रतिशत हुन आएको देखिन्छ भने अघिल्लो कृषिगणनाले यो ६५ प्रतिशत रहेको देखाएको थियो ।
सरकारले वि.सं. २०१८ सालदेखि हरेक दश-दश वर्षमा कृषिगणना गर्दै आएको छ ।
कृषिगणनामा मूलतः संरचनागत तथ्याङ्क जस्तै: स्थायी र अस्थायी बाली लागेको जग्गाको क्षेत्रफल, कित्ता संख्या, जग्गाको उपभोग (स्वामित्व) एवं उपयोग, सिँचाइको अवस्था, कृषि औजार र सामग्रीको प्रयोग, उमेर र जातअनुसार विभिन्न पशुपन्छीको संख्या, गैरआवासीय भवनको प्रयोग, कृषि कामदारसम्बन्धी विवरण, माछापालन, च्याउखेती, मौरीपालन, पुष्पखेतीजस्ता सहायक कृषि क्रियाकलापसम्बन्धी विवरणलाई समेटिएको छ ।









