बागलुङ । बागलुङको उच्च पहाडी क्षेत्रमा रहेको तमानखोला गाउँपालिका–३ तमान गाउँ र वडा नं ४ को लाम्मेला क्षेत्रमा आलु प्रवद्र्धन र बजारीकरणका लागि गाउँपालिकाले आलु महोत्सव आयोजना गर्ने भएको छ ।
गाउँपालिकाले आगामी असोज १ देखि ४ गतेसम्म वडा नं ४ को लाम्मेलामा आलु महोत्सव गर्न लागेको हो ।
कृषकलाई बजारसँग जोड्न र उत्पादनलाई थप बढाउनका लागि आलु महोत्सवले टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए । पर्यटकीय क्षेत्र सोलेडाँडाका काखमा अवस्थित लाम्मेलामा आयोजना गरिएको महोत्सवले कृषकलाई आलु उत्पादन गर्नेतर्फ थप आकर्षित गर्ने उनको भनाइ छ ।
अहिलेसम्म लाम्मेलाको आलुले बजार नपाउँदा किसान मर्कामा पर्ने गरेको भन्दै महोत्सवले तमानखोलाको आलु देशका विभिन्न सहरमा पुग्ने वातावरण सिर्जना गर्ने अध्यक्ष बुढामगर बताउँछन् । वर्षौंदेखि तमानखोलाका किसानले हजारौँ रोपनी जग्गामा आलु उत्पादन गर्दै आएको जनाउँदै उनीहरुलाई गाउँपालिकाले पनि अनुदान र प्राविधिक सहयोग गर्दै आएको बुढामगरको भनाइ छ ।
महोत्सवका अवसरमा स्थानीय झाँकी, कला, संस्कृति प्रदर्शन गरिनेछ भने आलुबाट बनाइएका परिकारका कक्ष राखिनेछन् । तमानखोलाका विभिन्न वडामा हाल आलु पकेट क्षेत्र घोषणा गरी किसान उत्पादन वृद्धि गर्नसमेत लागेका छन् ।









