नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा यहिचैत १६ गतेदेखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने नेपालमै पहिलो पटक नेशनल हर्टिकल्चर एक्स्पो २०८० हुन लागेको छ । नर्सरी व्यवसायी संघ नेपालका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रामजी कुँवरले काठमाडौँ अनामनगरको सिलौटो कटेजमा भएको पत्रकार सम्मेलनमा देशैभरका पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीका ७ सयभन्दा बढी प्रजातिका बोटबिरुवाहरु प्रदर्शनी तथा बिक्री हुने बताए ।
नर्सरी व्यवसायमा रुचि राख्ने, उद्यमी व्यवसायी तथा जिज्ञासुका साथै अध्ययन अनुसन्धानमा संलग्नलाई लक्षित गरी प्रदर्शनी आयोजना गरिएको आयोजक नर्सरी व्यवसायी संघले जनाएको छ । यस्तै नर्सरी व्यवसायीहरुको थप हौसला बढाउन स्वस्थ प्रतिस्पर्धा गराई शिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने संघले जनाएको छ। प्रतिस्पर्धाको मूल्यांकन गर्न कृषि वागवानी विज्ञ, वनस्पति विज्ञ साथै माटो तथा पर्यावरण विज्ञसहितको संलग्नतामा ३ सदस्यीय मूल्यांकन समिति समेत गठन गरिएको संघको भनाइ छ ।

नर्सरी व्यवसायी मध्येबाट १ जनालाई वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मानद्वारा सम्मान गरिने संघले जनाएको छ । यसका साथै कृषि क्षेत्रमा कलम चलाइरहेका दुई जना कृषि पत्रकारहरूलाई समेत सम्मान गर्ने भएको छ । पुष्पप्रेमी, फलफूलप्रेमी, जडिबुटीप्रेमी, बनजन्य हरियाली गार्डेन प्रेमी महानुभावहरूलाई लक्षित गरी यस मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।









