काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आज अर्थात चैत्र १६ गते देखि नेशनल हर्टिकल्चर एक्स्पो २०८० सुरू भएको छ । ‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने नारासहित नर्सरी व्यवसायी संघ नेपालले एक्स्पो आयोजना गरेको हो ।

एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीको ७०० भन्दा बढी प्रजातिका बोटविरूवाहरू प्रदर्शनी तथा विक्री वितरणमा राखिनुका साथै मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउबिजन, औजार उपकरण राखिएको छ । एक्स्पोमा ७४ वटा व्यवसायिक स्टल, २ वटा फुड स्टल, ७ वटा अफिसियल , ५ वटा प्रतिस्पर्धी स्टलसहित जम्मा ८८ वटा स्टल छन् । नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञासु एवं अध्यापन साथै अनुसन्धान गर्ने सम्पूर्णका लागि एक्स्पो बृहत् साझा मञ्च हुने आयोजकले बताएको छ ।

एक्स्पोमा यो ४ दिनसम्म कम्तीमा ५० हजारले अवलोकन गर्नुका साथै करिब १ करोडभन्दा बढीको आर्थिक कारोबार हुने संघले अपेक्षा गरेको छ । एक्स्पो अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति रू.१०० र विद्यार्थी तथा ज्येष्ठ नागरिकको लागि प्रतिव्यक्ति रू. ५० लाग्नेछ ।









