चर्चित

ललितपुरमा ५२१ पिन्ट रगत संकलन

ललितपुर, भदौ ६ – विश्व बन्धुत्व दिवसको अवसरमा तथा राजयोगिनी दादी प्रकाशमणिजीको १८ औं पुण्य तिथि स्मरणमा ललितपुर जिल्लामा एक भव्य र ऐतिहासिक रक्तदान अभियान सम्पन्न भएको छ। उक्त अभियानमा वडा कार्यालय वडा नम्बर १८ र २५ भैँसेपाटी, लायन्स क्लब अफ काठमाडौं गतिशील र मिथिला सिटी, सञ्जना महिला समूह, पुरानो बानेश्वर टोल बासी संस्था, समाधान समाज लगनखेल, ब्लड डोनर्स एसोसिएशन नेपाल (ललितपुर जिल्ला शाखा), हाम्री धराह, मकालु बेभरेज प्रा.लि., प्रगति युथ क्लब भैँसेपाटी, राम नारायण साह कलवार फाउण्डेशन लगायतका संस्थाहरूको सक्रिय सहकार्य रहेको थियो।

कार्यक्रमलाई कात्तिपुर रक्तसञ्चार सेवा, त्रिपुरेश्वरले प्राविधिक सहयोग गरेको थियो भने मिडिया पार्टनरका रूपमा भिजन न्यूज नेपाल र एग्रो टाइम्स मिडिया नेटवर्क प्रा.लि. संलग्न थिए। ललितपुरमा आयोजित यस वृहत रक्तदान अभियानलाई सहभागी दाताहरू, विभिन्न संस्थाहरू र स्थानीय समाजको सक्रिय उपस्थितिले ऐतिहासिक सफलतामा परिणत गरेको आयोजक समितिले जनाएको छ।

ललितपुर जिल्लामा संकलित रक्तदान विवरण यसप्रकार छः
१. श्रीकृष्ण प्रणामी मूल मन्दिर, इमाडोल – ५५ पिन्ट
२. भैँसेपाटी चोक, ललितपुर – ९८ पिन्ट
३. नखिपोट, लक्ष्मी मा. विद्यालय, ललितपुर – ९२ पिन्ट
४. लुभु, देवीस्थान, महालक्ष्मी नगरपालिका – ८४ पिन्ट
५. जावलाखेल, ललितमण्डप – ६५ पिन्ट
६. ठेचो, गोदावरी नगरपालिका – ९० पिन्ट
७. इन्टरनेशनल क्लब, सानेपा, ललितपुर – ३७ पिन्ट

 कुल जम्मा संकलन: ५२१ पिन्ट रगत

आयोजक संस्थाहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरू, संस्था र समुदायलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय