खगेन्द्र दाहाल, नरैनापुर, बाँके
बाँकेको नरैनापुरमा रहेको चुरे बहुउदेश्यीय सहकारीका किसानहरुले प्याज खेती नगरेरै अनुदान सरकारी अनुदान कुम्ल्याउन खोजेको पाइएको छ । नरैनापुर गाउँपालिका १ कटकुइयामा रहेको सहकारीले विभिन्न स्थानमा गरि १० हेक्टर क्षेत्रफलमा प्याज खेती गर्ने भनेर कृषि ज्ञान केन्द्र बाँकेमा सम्झौता गरेका छन । ज्ञान केन्द्रले किसानहरुलाई लसुन प्याज मिसन कार्यक्रम संचालन गर्दा प्रति हेक्टर १ लाख दिदै आएको छ । कृषि ज्ञान केन्द्रसगं सहकारीले पालिका क्षेत्रमा प्याज खेती गर्ने भनेर सम्झौता गरेपनि सोहि अनुसार कार्य नगरेको पाइएको हो ।

कृषि ज्ञान केन्द्रबाट भुक्तानी दिनु अघि अनुगमनमा जादाँ सहकारीका किसानहरुले प्याजको खेती नगरेको पाइएको कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ जिवन केसीले जानकारी दिनुभयो । अनुगमनमा गएका कर्मचारीलाई सहकारीका पदाधिकारी किसानहरुले प्याज कार्यक्रममा समावेस नभएको किसानले लगाएको आधा कट्ठा क्षेत्रफलको देखाए पछि सहकारीले बदमासी गरेको खुलेको हो ।
सहकारीले नरैनापुरमा १० हेक्टर क्षेत्रफलमा प्याज लगाउनकै लागी ८ सय किलोको डेलिभरी पाईप, २० वटा मोटर, १ वटा पावर टिलर मेसिन, १०÷१० वटा कोदालो, कुटो, फरुवा, ८० किलो प्याजको वीउ, ३५० किलो बेर्ना खरिद, प्लास्टीक २५० थान, ५ हजार प्याकेजिङबोरा, ८० वटा त्रिपाल लगाएतका कृषि सहयोगी सामाग्रीहरु खरिद गरि किसानहरुलाई वितरण गर्नुपर्ने सर्त सहित १० लाख अनुदान दिने गरि ज्ञान केन्द्रले सम्झौता गरेको थियो ।

सहकारीका तर्फबाट असोक कुमार हरिजनले कृषि ज्ञान केन्द्रसगं सम्झौता गरेकै आधारमा विना खेती गरेरै १० लाख अनुदान लिन खोजेका हुन । सहकारीका पदाधिकारीहरुले प्याज खेती अनुगमनमा पुगेकालाई झुक्याउन खोजेको र आफु विभिन्न बाहाना बनाएर फिल्डमा नआइ भागेपछि किसानले नै बदमासी गरेको पुष्टि भएको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत दिनेश भट्टराईले जानकारी दिनुभयो ।
उहाँले अनुगमनको क्रममा सहकारीका किसानले विना प्याज खेती गरेर सरकारले दिने अनुदान लिन खोजेको भन्दै कार्बाहि प्रक्रिया अघि बढाइने उल्लेख गर्नुभएको छ । सहकारीको यो बदमासीले गर्दा अन्य राम्रा किसानले पनि सरकारी अनुदान प्राप्त गर्न नपाएका हुन ।
बाँकेमा लसुन प्याज मिसन कार्यक्रम सफल नहुनुमा नरैनापुरको चुरे बहुउदेश्यीय सहकारी सस्थामा आवद्ध किसानहरु कै हात धेरै देखिएको हो । ठुलो क्षेत्रफलमा प्याज खेती गर्ने भनेर नगर्दा बाँकेमा यो बर्ष प्याजको उत्पादन कम उत्पादन हुन गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।









