चर्चित

को हुन् कास्की–२ का उम्मेदवार कुशल गुरुङ ?

काठमाडौँ/पोखरा । ऊर्जा, जलवायु परिवर्तन र दिगो विकासको क्षेत्रमा विश्वव्यापी अनुभव सँगालेका एक प्रखर विज्ञ अब नेपालको नीति निर्माणको केन्द्र, सदन छिर्ने तयारीमा छन् । वैकल्पिक ऊर्जाको क्षेत्रमा डेढ दशकभन्दा बढी समयदेखि सक्रिय कुशल गुरुङ यतिबेला उज्यालो नेपाल पार्टीका तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका छन् ।
फोहरबाट मोहोर र जैविक मलको क्रान्ति
कृषि र ऊर्जालाई एकै ठाउँमा जोड्न सिपालु गुरुङले पोखराको गगनगौँडामा ‘गण्डकी ऊर्जा’ मार्फत एक उदाहरणीय काम गरिरहेका छन् । उनले जैविक फोहरलाई वैज्ञानिक ढङ्गले प्रशोधन गरी व्यावसायिक रूपमा सम्पीडित बायोग्यास (Compressed Biogas) र उच्च गुणस्तरको जैविक मल (Organic Fertilizer) उत्पादन गर्दै आएका छन् ।
नेपालमा रासायनिक मलको अभाव झेलिरहेका किसानहरूका लागि उनको यो पहल एउटा दिगो समाधानको मार्गचित्र हो । फोहर व्यवस्थापनसँगै माटोको उर्वरा शक्ति जोगाउने जैविक मलको उत्पादनले नेपालको अर्गानिक कृषि अभियानलाई ठुलो टेवा पुर्याएको छ । यति मात्र होइन, उनले ‘मुथा एग्रो’ मार्फत आधुनिक हाइड्रोपोनिक्स प्रविधिमा आधारित भर्टिकल कृषि फार्म सञ्चालन गरेर नेपालमा स्मार्ट कृषिको जगसमेत बसालेका छन् ।
विज्ञता र अन्तर्राष्ट्रिय पहिचान
नेपालको ऊर्जा र वातावरण क्षेत्रमा गुरुङको नाम सम्मानका साथ लिइन्छ । विन्डपावर नेपालका संस्थापक प्रमुख कार्यकारी अधिकृत उनी हाल नवीकरणीय ऊर्जा परिसंघ नेपाल (RECON) का अध्यक्ष हुन् । प्रधानमन्त्रीको अध्यक्षतामा रहने वातावरण संरक्षण परिषद्को विज्ञ सदस्य र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सञ्चालक समिति सदस्यका रूपमा काम गरिसकेका गुरुङसँग राज्यको नीतिगत तहमा बसेर काम गरेको अनुभव छ ।
अन्तर्राष्ट्रिय स्तरमा पनि उनको प्रोफाइल उत्तिकै बलियो छ । सन् २०२४ को ‘एस्पेन आइडियाज फेस्टिभल फेलो’ देखि सन् २०१७ को ‘एसिया २१ यङ लिडर’ सम्मको उपाधिले उनलाई विश्वस्तरमा चिनाएको छ । संयुक्त अधिराज्यको युनिभर्सिटी अफ एडिनबर्ग बिजनेस स्कुलले आफ्ना उत्कृष्ट १०० पूर्वविद्यार्थीमध्ये उनलाई समावेश गर्नुले उनको व्यावसायिक उचाइ प्रष्ट पार्छ ।
किन राजनीति ?
विज्ञता र सफल व्यवसाय हुँदाहुँदै राजनीतिमा आउनुको कारणबारे उनी भन्छन्, “राइट म्यान इन राइट प्लेस हुँदा कुलमान घिसिङले नेपाललाई उज्यालो बनाउनुभयो । अब शासन, अर्थतन्त्र र कृषिका सबै क्षेत्रमा त्यस्तै उज्यालो ल्याउन म नीति निर्माणको तहमा पुग्न चाहन्छु ।”
नेपालमा प्रचुर सम्भावना भएर पनि निर्णय गर्ने ठाउँमा विज्ञताको अभाव हुँदा कार्यान्वयन पक्ष फितलो रहेको उनको ठम्याइ छ । उनले कास्की र पोखराको पर्यटन, ऊर्जा र वातावरणलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्ने एजेन्डा अघि सारेका छन् ।
कास्की-२ का मतदाता र समग्र कृषि
कृषिमा प्रविधि (Hydroponics), फोहोर व्यवस्थापन र जैविक मलको उत्पादनमार्फत आत्मनिर्भर अर्थतन्त्रको वकालत गर्ने कुशल गुरुङको राजनीतिक यात्राले नेपालको कृषि र ऊर्जा क्षेत्रमा कस्तो नीतिगत परिवर्तन ल्याउला ? यो अहिले कास्की-२ का मतदाता र समग्र कृषि सरोकारवालाहरूको चासोको विषय बनेको छ । वातावरण विज्ञान र कार्बन व्यवस्थापनमा स्नातकोत्तर गरेका गुरुङको उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि एउटा ‘सिस्टम’ परिवर्तनको प्रयासका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय