बाबुराम चौलागाईँ
प्रमुख, नेप्सेम्याक सेवा प्रा.लि., भक्तपुर शाखा
कुनै समय फोहोरलाई केवल फाल्ने वस्तुका रूपमा हेरिन्थ्यो, तर आज तीव्र सहरीकरणसँगै यही फोहोर वातावरणीय चुनौतीसँगै आर्थिक अवसरको स्रोतका रूपमा पनि स्थापित हुँदै गएको छ। जबसम्म हामी फोहोरलाई सिर्फफोहोरका रूपमा हेर्छौँ, तबसम्म यसको दीगो समाधान सम्भव हुँदैन। जुन दिन हामी फोहोरलाई पुनः प्रयोग गर्न सकिने स्रोत अर्थात् ‘मोहोर’का रूपमा बुझ्न थाल्छौँ, त्यही दिनदेखि स्वच्छ, सुरक्षित र दिगो सहर निर्माणको आधार तयार हुन्छ।

जैविक फोहोर: माटोको उर्वरताको आधार
हाम्रो भान्साबाट निस्कने अधिकांश फोहोर जैविक अर्थात् कुहिने प्रकृतिको हुन्छ, जसको हिस्सा कुल सहरी फोहोरको करिब ६०–७० प्रतिशतसम्म पुग्छ। यस्तो फोहोरलाई प्लास्टिकसँग मिसाएर ल्यान्डफिलमा पठाउँदा दुर्गन्ध, प्रदूषण र हरितगृह ग्यास उत्सर्जन बढ्नुका साथै वातावरणमा गम्भीर असर पर्छ।
यसको दिगो समाधान भनेको जैविक फोहोरलाई कम्पोस्ट मलमा रूपान्तरण गर्नु हो। घरमै कम्पोस्ट बिन प्रयोग गरेर वा समुदायस्तरमा व्यवस्थित संकलनमार्फत तयार गरिने जैविक मलले माटोको उर्वराशक्ति बढाउनुका साथै रासायनिक मलप्रतिको निर्भरता पनि घटाउँछ। प्रकृतिबाट आएको जैविक पदार्थलाई पुनः माटोमै फर्काउनु नै दिगो कृषि र वातावरण संरक्षणको आधार हो।
नकुहिने फोहोर: चक्रिय अर्थतन्त्रको अवसर
प्लास्टिक, कागज, सिसा, धातु तथा कपडाजस्ता पुनः प्रयोग गर्न सकिने वस्तुहरू यदि जथाभावी फालिए भने वातावरण र मानव स्वास्थ्य दुवैका लागि दीर्घकालीन समस्या बन्छन्। तर यिनै सामग्रीलाई छुट्टै संकलन गरी पुनः प्रशोधन गर्न सके नयाँ उत्पादनमा रूपान्तरण गर्न सकिन्छ।
यही अवधारणालाई चक्रिय अर्थतन्त्र (Circular Economy) भनिन्छ, जहाँ वस्तुहरूलाई सकेसम्म पुनः प्रयोग र पुनः उत्पादनको चक्रमा राखिन्छ। यसले प्राकृतिक स्रोतको संरक्षण गर्नुका साथै ल्यान्डफिलमा पुग्ने फोहोरको मात्रा उल्लेखनीय रूपमा घटाउँछ।
स्रोतमै वर्गीकरण: समाधानको पहिलो पाइला
फोहोर व्यवस्थापनको सबैभन्दा प्रभावकारी उपाय भनेकै स्रोतमै वर्गीकरण (Segregation at Source) हो। अर्थात्, फोहोर उत्पादन हुने स्थानमै कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै राख्ने बानी बसाल्नु। यसले संकलन, प्रशोधन र पुनः प्रयोगलाई सहज, कम खर्चिलो र प्रभावकारी बनाउँछ।
त्यसैले प्रत्येक घर, कार्यालय र संस्थाले कम्तीमा दुईवटा डस्टबिन प्रयोग गरी फोहोर छुट्टाछुट्टै व्यवस्थापन गर्ने संस्कार विकास गर्न आवश्यक छ। यो केवल सरसफाइको अभ्यास होइन, स्वस्थ समाज र दिगो वातावरण निर्माणतर्फको जिम्मेवार नागरिक दायित्व पनि हो।
फोहोर व्यवस्थापनको सफलता
फोहोर व्यवस्थापनको सफलता प्रविधि वा पूर्वाधारभन्दा बढी नागरिकको सोच र व्यवहारमा निर्भर हुन्छ। आजैदेखि जैविक फोहोरबाट मल बनाउने, पुनः प्रयोगयोग्य सामग्री छुट्टै संकलन गर्ने र स्रोतमै वर्गीकरण गर्ने बानी बसालौँ। हाम्रो सानो जिम्मेवारीपूर्ण अभ्यासले स्वच्छ हरित वातावरण र समृद्ध नेपालको आधार निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ।









