चर्चित

मेकाडामिया नट विश्वकै सबैभन्दा बहुमूल्य र पोषिलो ‘नट’ प्रजाति हो, जसको व्यावसायिक सुरुवात अष्ट्रेलियाबाट भएको हो। नेपालमा यसलाई स्थानीय स्तरमा झुप्पे ओखर वा हाडे बदाम भनिने गरिन्छ।

यसको फलभित्र पाइने सेतो, मख्खन जस्तै क्रिमयुक्त र स्वादिष्ट गुदीका कारण अन्तर्राष्ट्रिय बजारमा यसको माग निकै उच्च छ। नेपालको हावापानी मेकाडामिया खेतीका लागि उपयुक्त देखिएसँगै हालका वर्षहरूमा यो नेपाली किसानहरूको लागि एक नयाँ र आकर्षक आम्दानीको स्रोत बन्दै गएको छ।

नेपालको मध्यपहाडी तथा उपोष्णकटिबंधीय क्षेत्रहरू मेकाडामिया खेतीका लागि सर्वोत्तम मानिन्छन्। समुद्र सतहदेखि ३०० मिटरदेखि १८०० मिटरसम्मको उचाइमा यसको सफल खेती गर्न सकिन्छ। विशेष गरी कास्कीको पोखरा, स्याङ्जा, तनहुँ, पाल्पा, पाँचथर, धनकुटा र इलाम जस्ता जिल्लाहरूमा यसको परीक्षण उत्पादन सफल भइसकेको छ।यो वनस्पति रोपेको ३ देखि ५ वर्षभित्र थोरै मात्रामा र ७ देखि १० वर्षपछि पूर्ण रूपमा फल दिन सुरु गर्छ।

एउटा वयस्क बोटले वार्षिक ४० देखि ५० किलोग्रामसम्म फल दिन सक्छ। यसको मुख्य विशेषता के हो भने, यो फल निकै कडा हुने भएकाले नेपालका पहाडी भेगमा मुख्य समस्याका रूपमा रहेका बाँदर, बँदेल वा दुम्सी जस्ता जङ्गली जनावरहरूले यसलाई नष्ट गर्न सक्दैनन्। त्यसैले बाँझो तथा भिरालो जग्गाको सदुपयोग गर्न यो खेती उत्कृष्ट विकल्प बनेको छ।

मेकाडामिया नट विश्व बजारमा “लक्जरी फूड” को रूपमा चिनिन्छ। नेपालमा पनि यसको बजार निकै फराकिलो बन्दै गएको छ। ठूला होटल, रेस्टुरेन्ट, डिपार्टमेन्टल स्टोर र अनलाइन बजारहरूमा यसको माग उच्च छ।सम्भावना प्रचुर भए तापनि नेपालमा मेकाडामिया खेतीले केही प्राविधिक र व्यावहारिक चुनौतीहरूको सामना गरिरहेको छ।

नेपालमा उन्नत जातका ग्राफ्टिङ अर्थात् कलमी बिरुवाहरू सहजै र पर्याप्त मात्रामा उपलब्ध छैनन्। यसको अर्को मुख्य समस्या प्रशोधन प्रविधिको कमी हो। यसको बाहिरी बोक्रा फलाम जस्तै कडा हुने भएकाले हातले फुटाउन निकै गाह्रो हुन्छ र नेपालमा आधुनिक ‘नट क्र्याकिङ’ मेसिनहरूको अभाव छ। साथै किसानहरूमा यसको काँटछाँट, रोग नियन्त्रण र आधुनिक व्यवस्थापन सम्बन्धी प्राविधिक ज्ञानको अझै कमी देखिन्छ।मेकाडामिया नट खेती नेपालको कृषि क्षेत्रमा आर्थिक क्रान्ति ल्याउन सक्ने एक उच्च मूल्यवान् बाली हो।

यसको व्यावसायिक विस्तारका लागि सरकारी स्तरबाट कृषि अनुसन्धान केन्द्रहरू मार्फत किसानहरूलाई सहुलियत मूल्यमा कलमी बिरुवा वितरण गरिनुपर्छ। साथै, स्थानीय तहमा प्रशोधन केन्द्रहरू स्थापना गरी मूल्य अभिवृद्धि गर्न सकेमा यसले देशको आन्तरिक माग धान्नुका साथै भविष्यमा निर्यात गरी विदेशी मुद्रा आर्जनमा ठूलो टेवा पुर्‍याउने निश्चित छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय