कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मुलुक कोभिड १९ महामारीको संकटमा रहेको अवस्थामा महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सबैखाले सुरक्षा मापदण्ड अपनाएर कृषकहरुका समस्या समाधान गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी छन् । मन्त्री अर्यालले ३१ वैशाख नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रीका रुपमा नियुक्त भएसँगै आइतबार मन्त्रालयमा विभागीय प्रमुखहरुसँग छलफल गर्दै त्यस्तो निर्देशन दिएकी हुन । ‘कोभिड १९ महामारीको संकटमा छौ । महामारीको समयमा पनि हामीले हाम्रा कृषकहरुका समस्या सधानमा ध्यान दिनुपर्छ’, मन्त्री अर्यालले भनिन,‘यस्तो अवस्थामा हामी आफू सुरक्षाका सबै मापदण्ड अपनाएर कृषकका समस्या समाधानका लागि काम गर्नुपर्छ ।’
मन्त्री अर्यालले महामारीका कारण अहिले देशभरका कृषकले भोग्नुपरेका समस्या समाधान र कृषि उपज बजारीकरणका लागि आवश्यक सहयोग गर्न सबै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री तथा सचिवसँग तत्काल भर्चुअल मानध्यमबाट छलफल गरी आवश्यक कदम अगाडी बढाउन निर्देशन गरेकी छन् । कोभिड नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण कृषि तथा पशुपंक्षी क्षेत्रमा पर्नसक्ने प्रभावको अध्ययन गरी नेपाल सरकारबाट प्रदान गर्नसकिने सेवा सुविधाको सम्बन्धमा सरोकारवालासँग छलफल गरी क्षती पुगेका कृषकलाई राहत प्रदान गर्न आवश्यक तयारी गर्न समेत उनले निर्देशन दिइन् । मन्त्री अर्यालले भनिन, ‘महामारी नियन्त्रणका सन्दर्भमा गरिएको निषेधाज्ञाका कारण कृषि तथा पशुपंक्षी क्षेत्रमा पर्नसक्ने प्रभावहरुको अध्ययन गर्न आवश्यक छ । प्रभावहरुको अध्ययन त्यसपश्चात् सरकारबाट प्रदान गर्न सकिने सेवा सुविधाका सम्बन्धमा सरोकारवालासँग छलफल गरी क्षती पुगेका कृषकहरुलाई राहत प्रदान गर्न आवश्यक तयारी गर्नुस् । अध्ययन गर्दा साँच्चिकै प्रभावित कृषकहरु नछुटून ।’
मन्त्री अर्यालले कृषि तथा पशुपन्छी बजार तथा ढुवानी सहजिकरणको लागी यस अघिनै मन्त्रालयको अनुरोधमा गृह मन्त्रालय मार्फत सबै जिल्ला प्रशासन कार्यालयहरुमा पत्राचार भैसकैको भन्दै थप सहजीकरणको आवश्यकता देखिएमा तत्काल सरकारलाई अनुरोध गर्नेगरी तयारी गर्न समेत निर्देशन गरेकी छिन ।









