चर्चित

जुम्ला – जुम्लामा एकैपटक ३० हजार स्याउका बिरुवा रोपिएका छन् । गुठिचौर गाउँपालिका ५ काँडाखोला जलजलामा नेपालकै ठूलो फुजी स्याउ बगैँचा स्थापना भएको छ । गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मिनबहादुर भण्डारीले आधुनिक स्याउ बगैँचा निर्माण गर्नुभएको हो ।

झण्डै आठ करोड रुपैयाँको लगानीमा बगैँचा निर्माण गरिएको हो । अध्यक्ष भण्डारीका अनुसार ५ करोड रुपैयाँ बैंकको लगानी र ३ करोड रुपैयाँ फार्मको पुँजी लगानी गरिएको छ ।

स्याउ बगैँचामा स्याउ रोप्न कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा।राजेन्द्रप्रसाद मिश्र, स्याउ सुपरजोन कार्यालयका प्रमुख नवराज भण्डारी बगैँचामा पुग्नु भएको थियो ।
स्याउ रोप्दै सचिव मिश्रले स्याउको प्रशोधन,बजारीकरण, कृषि सडक लगायतका प्राविधिक सहयोग गर्न मन्त्रालय तयार रहेको बताउनुभएको छ ।

 

२०७६ को चैत देखि बगैँचा स्थापनाको तयारी थालिएको थियो । लकडाउनले उद्योग धन्दा, व्यवसाय बन्द भए पनि यो बीचमा यति ठूलो स्याउ बगैँचा निर्माणको काम भने रोकिएन । यसरी एक लाख ५० हजार वर्गमिटर जग्गामा स्याउ बगैँचा निर्माण भएको छ ।

स्याउ बगैँचा निर्माण भएपछि दर्जनौं स्थानीयले रोजगारी पाइसकेका छन् भने विस्तारै थप रोजगारी दिँदै जाने भण्डारीको भनाइ छ ।

जुम्लामा करिब २५ वर्ष अगाडि स्थानीय किसान पदमबहादुर महतले महतगाउँको नांगो डाँडामा चार हजार स्याउका बिरुवा लगाएपछि एकै पटक धेरै स्याउ उत्पादन भएको थियो । अहिले जुम्लामा स्याउ खेती गर्ने किसानहरु बढ्दै गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय