मुलुकको आर्थिक एवं सामाजिक उन्नती र समग्र विकासमा अत्यन्त एवं सम्वेदनशील स्थान ओगट्दै आएको कृषि क्षेत्रको संरक्षण, सम्बद्र्धन, उत्पादन र वितरण सम्बन्धी अधिकार प्राप्तिका लागि संगठित कृषक समूहलाई स्थानीय स्तरदेखि केन्द्रिय स्तरसम्म समन्वय गराई राज्य र कृषकहरुको सेतुको रुपमा राष्ट्रिय कृषक समुह महासंघको परिकल्पना परिकल्पना स्वरुप स्थापना भएको थियो । देशको झण्डै दुई तिहाई जनताको पेशा कृषि भएर पनि कृषि उत्पादनमा देश आत्मनिर्भर बन्न नसकिरहेको अवस्था अहिले छ, स्थानीय विउ विजनहरू लोपोन्मुख अवस्थामा पुगिसकेका छन् । मल विउ, विषादि तथा उपकरणहरुमा देश परनिर्भर बन्दै गइरहेको छ ।
कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गर्न नसकिनाले एकातिर युवा जनशक्ति विदेशिने क्रम बढ्दो छ भने अर्कोतर्फ कृषि क्षेत्र महिला र वृद्ध वृद्धाहरुको काँधमा पुगेको छ । कृषि प्रधान देशको मर्मलाई सार्थक बनाउनको लागि देशैभरी गठन भई कृयाशिल रहेका कृषक समूहरु र कृषि सहकारीकोहरुको सु–शासनमा आधारित समावेशी लोकतान्त्रिक पद्धति अनुरुप क्षमता विकास गर्नुका साथै सरकारी, गैरसरकारी संघ संस्थाहरुसँग समन्वयात्मक रुपले विकास अभियानमा सरिक गराउन राष्ट्रिय कृषक समूह महासंघ, नेपालको स्थापना गरिएको थियो ।
राष्ट्रिय कृषक समुह महासंघको परिचय
२०६६ साल देखि विभिन्न जिल्लाका सेवा केन्द्र समन्वय समिति, जिल्ला समन्वय समिति, जिल्ला समन्वय संस्था, क्षेत्रिय समन्वय समिति हुदै सम्वन्धित निकायमा दर्ताभई देशै भरी छरिएर रहेका कृयाशिल कृषक समूहहरु, पशु सेवा समुहहरु र कृषि तथा कृषि उत्पादक सहकारीहरुलाई आवद्धता गर्दै गा.वि.स, सेवा केन्द्र (ईलाका), जिल्ला, क्षेत्र हुदै राष्ट्रिय स्तरसम्मको संरचना रहने गरि राष्ट्रिय कृषक समुह महासंघ, नेपाल २०६८ भाद्र २३ गते तत्कालीन मध्यमांचल क्षेत्रिय कृषि निर्देशनालय हरिहरभवनमा कृषक समुहहरुको अगुवा प्रतिनिधिहरुको भेलाबाट गठन भई देशैभरी कार्य क्षेत्र रहने गरी २०६८ चैत्र १४ मा जि. प्र.का. काठमाडौंमा दर्ता भएको हो । ८ जिल्लाका किसान प्रतिनिधिहरुको भेलाबाट गठन भएको यस महासंघले कृषक समुहहरुलाई आवद्धता गरी संगठन विस्तार गर्दै २५ जिल्ला महासंघका प्रतिनिधिहरुको सहभागितामा २०७१ जेष्ठ ११—१२ गते प्रथम राष्ट्रिय महाधिबेशन सम्पन्न गरेको थियो । २०७१ पौष २४ मा प्रथम परिषद, २०७२ पौष ३० दोश्रो राष्ट्रिय परिषद, २०७३ पौष २६ मा तेश्रो राष्ट्रिय परिषद, २०७५ पौष ३ गते चौथो राष्ट्रिय परिषद र ७ वटै प्रदेशमा अधिबेशन सम्पन्न गर्दै हाल ६३ जिल्लामा संगठन विस्तार गरि ५१४८ कृषक समुहहरु यस महासंघमा आवद्ध भएका छन् ।
राष्ट्रिय कृषक समुह महासंघ नेपालको परिकल्पना
स्वशासित, आत्मनिर्भर, श्रोत साधन महासंघ र समृद्ध किसान
राष्ट्रिय कृषक समुह महासंघ नेपालको लक्ष्य
कृषक सशक्तिकरणद्वारा किसान अधिकारको स्थापना
राष्ट्रिय कृषक समुह महासंघ नेपालको ध्येय
कृषक सशक्तिकरण एवं महिला तथा सीमान्तकृत कृषकको समावेशी सहभागितालाई सुनिश्चितता गर्दै दीगो कृषिको माध्यमद्वारा आज कृषक समुदायलाई सम्वृद्ध बनाउने ।
राष्ट्रिय कृषक समुह महासंघ नेपालको कार्यनीति
केन्द्रदेखि जिल्ला हुँदै पालिका र वडासम्म महासंघको संगठन विस्तार गर्ने ।
किसानको हकहितका सवाल सम्बन्धित क्षेत्र एवं निकाय समक्ष पुर्याउने ।
नेपाल सरकारद्वारा तयार गरिएका कृषिका नीति, नियम कृषकलाई जानकारी गराउने र कार्यन्वयनमा सहयोग पुर्याउने ।
नीति निर्माण, परिवर्तन र कार्यान्वयनको लागि अध्ययन, पैरवी, दबाबमूलक कार्यक्रम संचालन गर्ने ।
कृषकका सवालहरू पहिचान गरी सम्बन्धित निकायमा पैरवी गर्ने ।
कृषि क्षेत्रखमा लगानी गर्ने स्थानीय निकायहरुको बजेट प्रभावकारी रुपमा कृषि क्षेत्रमा संचालन गर्न गराउन, किसानको पहुँच बढाउने ।
कृषि पेशालाई व्यवसायिक एवं मर्यादित गराउँदै युवा शक्तिलाई कृषि रोगगारमा समाहित गर्ने ।
किसानका उत्पादनलाई राज्यको सरोकारको रुपमा स्थापित गराउने ।
कृषि र विकासका सवालमा कार्यरत सरोकारवाला निकायहरू बिच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संजाल निर्माण गर्ने ।
कृषि र विकासका सरोकारका विषयहरुको अध्ययन र अनुसन्धान गर्ने ।
स्वेदशी तथा विदेशी संघ संस्थाहरुसँग अनुभव तथा निकाई आदान–प्रदान गर्ने ।
कृषि, कृषक, भूमि र खाद्य अधिकारका विषयमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग सहकार्य गर्ने ।
कृषिमा रुपान्तरण, संगठन निर्माण र सुदृढिकरण भन्ने नारासहित राष्ट्रिय कृषक समुह महासंघ नेपालले आफ्नो १२ औँ स्थापना दिवश मनाईरहेको पुर्व सन्ध्यामा महासंघलाई हाम्रो पनि शुभकामना ।









