बारीभरि ढकमक्क फूल फुलेका छन् । मुख्य पर्वहरु सकिएपनि अहिले चिनावको लागी माग हुँदा फुलेको फूल टिप्न भ्याइनभ्याइ भएको छ । फुलेका फूललाई कसैले टिप्ने र कसैले माला उन्ने काममा व्यस्त देखिन्छन् । बाणगङ्गा नगरपालिका कपिलवस्तुका भास्कर पँगेनीले घोराही उपमहानगर–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेको बारीमा देखिएको दृश्य हो यो ।
कपिलवस्तुमा चार वर्षदेखि फूल खेती गरिरहेका पँगेनीले गत वर्षदेखि दाङमा फूल खेतीको शाखा विस्तार गर्नुभएको छ । दाङमा १० कट्ठा जमिन मासिक रु दुई हजार भाडा दिने सर्तमा फूल खेती गर्नुभएको छ । गत वर्ष पाँच कट्ठामा व्यावसायिक फूल खेती गर्नुभएका पँगेनीले यो वर्ष १० कट्ठामा फूल खेती गर्नुभएको छ । उहाँले कर्म ५५५ जातको सयपत्री फूल खेती गर्नुभएको छ ।
स्वदेशमै फूलमा आत्मनिर्भर बनाउने उद्देश्यले रु एक लाख आठ हजारको फूलको बीउ किनेर खेती सुरु गरेको उहाँको भनाइ छ । “फूलका बिरुवा बिक्री गरेर बीउको पैसा उठिसकेको छ, फूल बिक्री गरेको पैसा सबै आम्दानी हो”, उहाँले भन्नुभयो । बीउ राखेको १३ दिनमा बिरुवा सार्न तयार हुन्छ । राम्रो एउटा बिरुवाबाट एक सय ५० देखि दुई सय वटासम्म फूल फुल्ने उहाँले बताउनुभयो ।
करिब १० हजार माला बिक्री गर्ने लक्ष्यका साथ फूल रोपिएको पँगेनीको भनाइ छ । प्रतिकिलो रु पाँच सयमा बिक्री गर्ने गरेको र खुल्लामा रु दुई सयदेखि दुई सय ५० सम्ममा माला बिक्री गर्ने गरेको उहाँँले बताउनुभयो ।
अहिले जिल्ला बाहिरबाट फूलको माग आएको भए पनि पहिलो प्राथमिकतामा जिल्लाभित्रलाई दिएको उहाँँले बताउनुभयो । “जिल्लामा खपत नभएमात्र अन्य जिल्लामा पठाउने योजना छ”, उहाँले भन्नुभयो । माग धेरै आएको हुँदा माला बनाउने काम पनि सुरु गरिएको उहाँँले जानकारी दिनुभयो । स्थानीय महिलालाई फूलका माला उन्न उहाँले रोजगारीसमेत दिनुभएको छ । एउटा माला उनेबापत रु पाँच दिने गरेको उहाँले बताउनुभयो ।
भारतीय फूलको मालाले स्वदेशी उत्पादनलाई विस्थापित गरेको छ । बाहिरी देशबाट आउने फूलमा प्रतिबन्ध गर्ने हो भने मात्रै स्वदेशी उत्पादनले कमाइ गर्छ । बजारीकरणको व्यवस्था, सहुलियत कृषि बीमा र भारतबाट भित्रिने फूल र प्लास्टिकको फूललाई सरकारले प्रतिबन्ध गरेर स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने हो भने कृषिमा भविष्य राम्रो भएको उहाँले बताउनुभयो । दाङमा किसानले उत्पादन गरेको वस्तु भण्डारणका लागि व्यवस्थित कोल्डस्टोरको अभाव रहेको पँगेनीको भनाइ छ ।
युवाहरू वैदेशिक रोजगारीका लागि बाहिर जानु नपर्ने र स्वदेशमै कृषिबाट मनग्य आम्दानी गर्न सकिने उहाँको भनाइ छ । बेरोजगार युवाहरूलाई कृषिमा समाहित गराउने उद्देश्यले १०८ कन्सेपमा कृषि फर्मको नाम नै (१०८) राख्नुभएको छ । दाङको कृषि फार्म १५ नंको रहेको छ । फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उहाँको भनाइ छ । यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सकिने सम्भावना रहेको कृषि विज्ञको भनाइ छ । जग्गा बाँझो छाडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूल खेती गर्न सके त्यसले आयआर्जनको बलियो आधार भएको छ ।
दाङमा व्यावसायिक फूल खेतीमा युवा आकर्षण बढ्दै गएको छ । एक सय आठ युवालाई कृषि उद्यमी बनाउने तथा रोजगार प्रदान गर्ने अभियानअन्तर्गत देशव्यापीरूपमा युवाहरुलाई कृषिमा सहभागी हुन पँगेनीले आह्वान गर्नुभएको छ ।