स्वच्छ वातावरण र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय ’ भन्ने मुल नारासहित फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा काठमाडौंस्थित भृकुटीमण्डपकाे प्रदर्शनी हलमा चैत १७ गतेदेखि २० गतेसम्म ‘ २४ औं फ्लोरा एक्स्पो ’ हुने भएको छ । ४ दिनसम्म चल्ने प्रदर्शनीमा विभिन्न पुष्प नर्सरी, फर्म र संघसंस्थाहरूको सहभागितासहित करिब ८० वटा स्टल रहने छन । जसमा व्यावसायिक स्टल ६२, ल्याण्डस्केपिङ्ग स्टल ३, अफिसियल स्टल १०, प्रतियोगितात्मक प्रदर्शनी स्टल ३ र २ वटा फूड स्टल रहने छन् । साथै करिब ४ सय ५० भन्दा बढी प्रकारका फूल बिरुवाहरुको प्रदर्शनी तथा बिक्री हुने छन् ।
मेलामा मौसमी फूल फुल्ने तथा नफूल्ने आलंकारिक बोटविरुवाहरू, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बीउबिजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङ्गका सामग्री, सुक्ष्म तथा थोपा सिंचाइ प्रविधि, आधुनिक पुष्प खेती प्रविधि, जैविक विषादी, पुष्प सजावटका प्रदर्शनी तथा बिक्री कक्ष रहने छन् । त्यस्तै, यस प्रदर्शनीमा भारत तथा बंगलादेशका केही पुष्प व्यवसायीहरूको समेत सहभागिता रहने छन् । मेलामा सहभागी भएका पुष्प व्यवसायीहरूद्वारा उत्पादित फूल विरुवाहरू बीच स्वच्छ प्रतिस्पर्धा गराइ विभिन्न विधामा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, शिल्ड तथा प्रमाण – पत्रद्वारा पुरस्कृत गरिने कार्यक्रमसमेत रहेको छ ।
एक्स्पोमा पुष्प विकास केन्द्र, वाग्मती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाे आर्थिक सहयोग रहेको छ । पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनका लागि फ्लोरिकल्चर एशोसिएसन नेपालले हरेक वर्ष क्षेत्रिय तथा राष्ट्रिय पुष्प मेला आयोजना गर्दै आइरहेको छ । प्रदर्शनीले प्रत्यक्ष एवम् परोक्ष रूपमा पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनमा थप महत्त्वपूर्ण योगदान पुऱ्याउने अपेक्षा गरिएको छ । कार्यक्रमको उद्घाटन चैत १७ गते, शुक्रबार बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुने कार्यक्रम रहेको छ ।
संस्थाले यस वर्ष आयोजना हुने एक्स्पो अवधिभित्र ४७ हजार अवलोकनकर्ताद्वारा अवलोकन हुने तथा करिब ७५ लाखसम्मको व्यावसायिक कारोबार हुने अपेक्षा लिएको छ । उक्त प्रदर्शनीकाे प्रवेश शुल्क विद्यार्थीहरुका लागि १ सय र सर्वसाधारणहरुका लागि १ सय ५० तोकिएको छ । फ्लोरिकल्चर एशोसिएसनले वि.सं. २०५१ सालदेखि पुष्प प्रदर्शनी तथा व्यापार मेला सञ्चालन गर्दै आइरहेको छ ।









