चर्चित

पाँचथरको फिदिम नगरपालिका वडा नं. १२ मा व्यावसायिक रूपमा छुर्पी उत्पादन हुन थालेको छ । नगरपालिकामा गाईको दूध उत्पादन वृद्धि हुन थालेपछि त्रिशक्ति डेरी मिल्क उत्पादन सहकारीले छुर्पी उत्पादन सुरु गरेको हो ।

पछिल्लो समय गाईपालनतर्फ सक्रियता बढेसँगै दुग्धजन्य वस्तुको उत्पादन पनि सुरु गरिन थालिएको छ । दूधलाई प्रशोधन गरी बनाइने नौनी र छुर्पीको माग बढेपछि सहकारीले उद्योग स्थापना गरेर उत्पादन गरिरहेको संस्थाका अध्यक्ष रिञ्जी शेर्पाले बताए ।

शेर्पाका अनुसार सहकारीले मासिक १ हजार २ सय किलो छुर्पी र सोही परिमाणमा नौनी पनि उत्पादन गरिरहेको छ । उत्पादित छुर्पी प्रायः विदेशमा निर्यात हुँदै आएको छ भने बाँकी काठमाडौँ, पोखरा, बुटवललगायतका ठाउँमा खपत हुन्छ । छुर्पी खरीद गर्न व्यवसायीहरू उत्पादनस्थलमा नै आउने गरेका छन् ।

दूध खेर नजाओस् भनेर व्यावसायिक रूपमा उद्योग नै सञ्चालन गरी छुर्पी र नौनी उत्पादन गर्न थालिएको उनको भनाइ छ । १ किलो छुर्पी १ हजार १ सय रुपैयाँमा बिक्री भइरहेको छ भने नौनी प्रतिकिलो ६ सय ५० रुयैयाँमा बिक्री हुन्छ । उत्पादि छुर्पीको माग बढेको हुँदा उत्पादनमा वृद्धि गर्दै लगिने अध्यक्ष शेर्पाको भनाइ छ ।

दैनिक २५ सय लिटर दूध संकलन

सहकारीले दैनिक रूपमा २५ सय लिटर दूध संकलन गरिरहेको शेर्पा बताउँछन् । सहकारीमा २ सय जना आबद्ध रहे पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत ‘नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको उपआयोजनामा ५६ जना किसानहरूले गाईपालन गरेका छन् । ती किसानहरूले ८० वटा गाई पालेका छन् ।

एनएलएसआईपीअन्तर्गत ५६ वटा गोठ सुधार गरिएको शेर्पा बताउँछन् । गाईलाई खुवाउन प्रत्येक किसानले ८ देखि १० रोपनी जग्गामा घाँस पनि लगाएका छन् । सहकारीले ती किसानबाट दैनिक रूपमा ८ सय लिटर दूध संकलन गरिरहेको छ । बाँकी दूध सहकारीमा आबद्ध अन्य पशुपालकबाट संकलन भइरहेको हो ।

जसबाट मासिक रूपमा १ हजार २ सय किलो छुर्पी र बराबर परिमाणमा नौनी उत्पादन भइरहेको शेर्पाले बताए । उद्योगमा दूध उमाल्ने, फटाउने, छान्ने, मेसिनमा पेल्ने, क्रिम काट्ने, आगोमा सुकाउने, काटेर टुक्रा पार्नेलगायतका काममा ३ जनालाई रोजगारी समेत मिलेको छ । गाउँमै छुर्पी उत्पादन हुन थालेसँगै दूधको माग बढेको छ । जसका कारण किसानले उत्पादन गरेको दूधले बजार पाउन थालेको छ ।

रोजगारीमा टेवा 

सहकारी संस्थाले छुर्पी उद्योग स्थापना गरी दूध खपत गर्दै आएको छ । किसानहरूले पाउँदै आएको दूधको मूल्यमा थप मूल्य पाउँदै आएका छन् । गाउँमा स्थापना भएको छुर्पी उद्योगमा दूध बिक्री हुन थालेपिछ दूध बिक्री गर्न र परिवार धान्नसमेत सहज भएको सहकारीका व्यवस्थापक श्रीराम काफ्लेले बताए । आफ्नै सहकारीमा दूध खपत गर्न पाउँदा काफ्लेले खुसी व्यक्त गरेका छन् । काफ्लेका अनुसार किसानले दूधमा थप मूल्य मात्र पाएका छैनन्, रोजगारी पाउन थालेका छन् ।

यहाँका किसानले परम्परागत रूपमा पाल्दै आएको गाईपालनलाई व्यावसायिक बनाउन थालेका काफ्ले बताउँछन् । प्रतिकिसान १० लिटरसम्म दूध उत्पादन गर्दै आएका छन् । यहाँका किसानले जर्सी, होलेस्टेनलगायत उन्नत जातका गाई पाल्दै आएका छन् । सहकारीमार्फत दुग्ध व्यवसायलाई थप व्यवस्थित बनाउँदै लैजाने हो भने किसानको जीवनस्तर उकास्न टेवा पुग्ने शेर्पा बताउँछन् ।

Cheesemaker -Traditional cheese making at a creamery,

एनएलएसआईपीको अनुदानले लगानी सदुपयोग भयो

सरकारले धमाधम अनुदान दिइरहेकामा उत्पादकहरू सन्तुष्ट थिएनन् । तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत ‘नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको अनुदानको फरक मोडालिटीका कारण अनुदानको सही ठाउँमा सदुपयोग भइरहेको अध्यक्ष शेर्पाले बताएका छन् ।

एनएलएसआईपीको ५० प्रतिशत अनुदान पाउन संस्थाको २० प्रतिशत लगानी र बैंकको ३० प्रतिशत ऋण लगानी अनिवार्य हुने आयोजनाका कृषि अर्थविज्ञ सुशील खड्का बताउँछन् । कूल २ करोडको लगानीमा सुरु गरिएको सहकारीको उद्योगले एनएलएसआईपीसँग २०७८ को साउनमा सम्झौता गरेर सोही वर्षको फागुनमा सम्झौता सम्पन्न गरेर ८८ लाख रकम अनुदान पाएको शेर्पाले बताए ।

श्रोत हलोखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय