कोदोको बहार, दिगो पौष्टिक र स्वादिष्ट आहार भन्ने नाराका साथ काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ मा साउन १५ गते राष्ट्रिय कोदो दिवश मनाइएको छ । कोदोको महत्व र विशेषताका बारेमा विभिन्न क्षेत्रका विज्ञ प्रतिनिधि तथा सरोकारवालाबिच छलफल गरेर साउन १५ गते कोदो दिवस मनाइएको हो ।
राष्ट्रिय कृषक समूह महासंघ नेपाल, अनाज नेपाल, मण्डन देउपुर नगरपालिका, खाद्य तथा कृषि संगठन (एफएओ), केएर नेपाल र मिलन महिला कृषक समूहको संयुक्त आयोजनामा दिवस मनाइएको हो । कोदोको प्रयोग बढेसँगै मुलुकभित्र नै उत्पादनलाई जोड दिन सरोकारवालाहरूले जोड दिएका छन् । दिवस मनाई रहँदा सरोकारवालाहरूले कोदो र कोदोजन्य खाद्यको उत्पादन बढाउन जोड दिएका हुन् ।
यसैक्रममा महासंघका अध्यक्ष नवराज बस्नेतले कोदो बाली साना, सिमान्त कृषकहरूको जीविकाको आधार भएकाले, सरकारी लगानी र प्राथमिकतासहित प्रतिस्पर्धात्मक क्षमता बढाउन जरुरी भएको औंल्याए ।

यसैगरी कार्यक्रममा कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठले सरकारले कोदोजन्य बाली उत्पादनमा प्रोत्साहन गर्न १ सय ३३ वटा पालिकासँग मिलेर अनुदानसहित कार्यक्रम गरेकोमा अब यस वर्ष १ सय ६७ पालिकाहरुमा बाली प्रवद्र्धन गर्न लागेको जानकारी दिए । सो बालीको उत्पादन, ब्राण्डिङ, बजारीकरण र रैथाने बाली संरक्षण लगाउतका कम्पोनेन्ट पूरा गर्न यसो गरिएको बताए । अब सरकारीस्तरबाट सकभर साउन १५ लाई कोदो दिवश भनेर वार्षिक क्यालेण्डरमा राख्ने समेत यस वर्ष प्रक्रिया अघि बढाइने र टुङ्गो लागेमा आगामी वर्षदेखि तालिकामा समेटीने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कृषि विभागका महानिर्देशक डा.हरिबहादुर केसीले छोड्दै गएका रैथाने बालीलाई सरकारले प्रवर्द्धनमा जोड दिँदै आएको बताए ।
राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णुमाया ओझा कुनैबेला हेंला गरीने कोदोको महत्व बढ्दै गएको र अहिले दिवसको रुपमा मनाइरहेको बताइन् । नेपाल कोदो उत्पादनमा सक्षम हुँदा हुँदै पनि वार्षिक ७३ करोड आयात गर्नुपर्ने अवस्था भएकोमा उनले अब मुलुक निर्यातमा अब्बल हुनुपर्नेमा जोड दिइन् ।
यस्तै, खाद्यका लागि कृषि अभियानका अध्यक्ष तथा महासंघका संरक्षक उद्धव अधिकारी कोदो खेती छाड्दै जाने प्रवृत्ति बढिरहँदा यसको महत्वलाई बुझेर फेरि उत्पादनमा जोड दिन थालेकाले यसलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
यसैक्रममा उनले निकट भविष्यमा कोदो दिवसकै रुपमा सरकारले राष्ट्रिय मान्यता दिनेमा पनि उनी विश्वस्त रहेको बताए । नगरपालिकाका प्रतिनिधिहरूले कोदो रोप्ने प्रवृत्तिलाई बर्षेनि बढाउँदै जाने हो भने आयात नै गर्न नपर्ने र आन्तरिक खपत आफ्नै उत्पादनले धान्न सकिने बताए। अबका सन्ततिलाई पनि कोदो उत्पादन र उपभोगमा पनि बानी पार्न आवश्यक रहेकोमा सरोकारवालाहरूले ध्यानाकर्षण गराएका छन् ।















