चर्चित

चितवन, १७ साउन । सयपत्री फूलमा नेपाललाई आत्मनिर्भर बनाउने अभियानमा चितवनका युवाहरू जुटेका छन् । जिल्लाको पदमपुरका ५ जना युवाहरूले ‘फूलमाला फार्म’ नामको कृषि फार्म सञ्चालक गरी यसवर्ष १५ लाख सयपत्री फूलको बिरुवा उत्पादन गर्ने लक्ष्य लिएका हुन् ।

करीब ४ वर्षदेखि फूल खेती गर्दै आइरहेका उनीहरूले यसवर्ष १० बिघा जग्गामा व्यापक रूपमा फूल उत्पादन गर्ने योजना बनाएका छन् ।

फार्म सञ्चालक गोविन्द बाँस्तोलाका अनुसार देशभर फूलको खेती हुने क्षेत्र बढाउने अभिप्रायले युवाहरूको समूहले व्यक्तिगत फार्म तथा विभिन्न संघसंस्थालाई न्यून मूल्यमा सयपत्री फूलका बिरुवा पनि वितरण गरिरहेको छ ।

बाँस्तोलाका अनुसार फार्मले उत्पादन गर्ने १५ लाख बिरुवामध्ये १० लाख बिरुवा देशैभर बिक्रीवितरण गर्ने र बाँकी ५ लाख बिरुवा आफैँले रोप्ने तयारी छ । जसबाट वार्षिक ४० लाख रुपैयाँको कारोबार गर्ने लक्ष्य लिइएको बाँस्तोलाले जानकारी दिएका छन् । हेर्दा आकर्षक र फुलाउन सहज हुने भएकाले नेपालमा सर्वाधिक रुचाइने फूलमध्येमा सयपत्री पर्छ । तिहारमा यसको माग उच्च हुने गरेको छ ।

काठमाडौँ महानगर र धरान उपमहानगरपालिकालाई फूलका बिरुवा वितरण गरिने

काठमाडौँ महानगरपालिकाले सुरु गरेको ‘हरियाली महानगर’ अभियानमा पनि यस समूहले १० हजार फूलका बिरुवा निःशुल्क वितरण गर्ने बाँस्तोलाले बताएका छन् । महानगरले सुरु गरेको सुन्दर महानगरको परिकल्पनालाई साकार पार्न चितवनबाट आफूहरूले सहयोग गर्न पाउँदा हर्षित भएको फार्म सञ्चालक बताउँछन् ।

युवाहरूको समूहले काठमाडौँ महानगर मात्र नभएर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई पनि १० हजार सयपत्रीका बिरुवा वितरण गर्ने योजना रहेको छ ।

नेपालमा बर्षेनि लाखौँको फूल आयात

तथ्यांक हेर्ने हो भने नेपालमा बर्सेनि तिहारको समयमा भारतबाट २० लाख आसपासको संख्यामा सयपत्री फूलको माला आयात भएको देखिन्छ । नेपालमा फूलको बजार माग बढ्दै गएपछि तिहारको तयारीस्वरूप युवाहरूले फूल उत्पादनको थालनी गरेका हुन् ।

यदि यसवर्ष भारतबाट फूल आयात नहुने हो भने नेपाली फूल उत्पादकले मनग्ये नाफा लिन सक्ने देखिन्छ । नेपालमा प्रत्येक वर्ष १५ देखि २० प्रतिशतका दरले फूलको माग बढ्दै गएको तथ्यांक छ । नेपालमा हाल व्यावसायिक रूपमा ४ सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय