चर्चित

चितवन, २१ साउन । बाहिरबाट हेर्दा जोकोहीलाई लाग्नसक्छ; सामान्य खाजा घर त हो ! तर जब भित्र पसिन्छ, यताउता हेर्दा र अनुभव गर्दा कसको मन नलोभिएला र !

भित्रको वातावरण नै यस्तो छ कि पुरै घर मकैमय देखिन्छ । घरभित्र मकैको मगमग वास्ना ! मकै पारखीका लागि योजत्तिको रोमाञ्चक स्थल भेटिए अरू के चाहियो र !

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–५ स्थित नगरपालिका चोकैमा छ मकैघर । स्थानीय युवा व्यवसायी लीला सापकोटाले सस्तो र स्वस्थकर मकैको खाजा उपलब्ध गराउने उद्देश्यले मकैघर सञ्चालनमा ल्याएका हुन् । सापकोटाले गत जेठ १४ गतेदेखि मकै घर सञ्चालनमा ल्याएका हुन् ।

पछिल्लो समयमा ग्राहकले नवीनता र विविधता खोजिरहेका अवस्थामा मकै घरले एउटै खाद्यवस्तुलाई विभिन्न परिकार बनाएर ग्राहकसामु नवीन तरिकाले पस्किँदै आएको छ । मकैका विभिन्न स्वादिष्ट परिकारहरू पाइनुले यतिबेला ‘मकै घर’ को चर्चासँगै लोकप्रियता पनि बढ्दै गएको छ ।

यहाँ हरियो मकैका विभिन्न परिकार खान पाइन्छ । पोलेको, उसिनेको, साँधेको, भुटेको मकै पाइनुका साथै मकैको रोटी, मोमो, पुलाउ, पकौडा, चटपटसहित मकैबाट बनाउन मिल्ने टिकिया चाट, मकै चिल्ली, मकैको सातु, मकैको पकौडालगायतका परिकार पाइन्छन् । मकैसँग खान मिल्नेगरी मही, उखुको जुस, फलफूलका जुसहरू पनि पाइने सञ्चालक सापकोटा बताउँछन् ।

बजारमा पाइने पत्रु खाना खानुभन्दा मकै खानु स्वास्थ्यका लागि धेरै फाइदाजनक रहेको लेखराम सापकोटाले बताए । सापकोटा भन्छन्, ‘यहाँ उपलब्ध मकैको परिकार मीठो पनि छ । मकै सस्तो पनि पर्छ । यो बाटो भएर हिँड्दै गर्दा मकैको स्वाद लिन आइएकै हुन्छ ।’

सडकछेउमा मकै पोलेको देखेपछि व्यवस्थित मकैघर सञ्चालनमा आयो

गैँडाकोटमा बाह्रै महिना हरिया र ताजा मकै पाइन्छन् । राजमार्ग छेउमा जताततै मकै पोल्ने र खानेहरूको भीडले यहाँ चहलपहल भइरहन्थ्यो ।

सडक छेउमा बसेर मकै पोल्नेहरूका आ-आफ्नै वेदना र पीर-व्यथा देख्दै आएका थिए सापकोटा । कोइलाको सहारामा आगो फुक्दै मकै पोल्दा डढेका हात अनि सुन्निएका नशा र धुवाँले खोक्दै गरेका मानिसहरू देखेका सापकोटाले यसलाई व्यवस्थित बनाउने सोचेका थिए ।

मकै घरमा ३ जनाले रोजगारी पनि पाएका छन् । उनले स्थानीय जातको मकै प्रयोग गर्ने गर्छन् । उनले हेटौँडा, सर्लाही र चितवनबाट मकै खरीद गरेर ल्याउने गरेको बताए ।

अव्यवस्थित तरिकाले भए पनि सडक किनारामा बिक्रीका लागि राखिएका पोलेका मकैको राम्रो व्यापार भइरहेको हुन्छ । यसै बजारलाई व्यवस्थित र व्यावसायिक रूप दिन मकै घरको अवधारणा ल्याइएको सापकोटाले बताए । उनले मकै पोल्न र उसिन्नका लागि राष्ट्रिय आविष्कार केन्द्रले तयार पारेको मेसिरनरी उपकरण ल्याएका छन् ।

सापकोटासँग हाल ग्यांँस र कोइलाबाट मकै पोल्ने र भुट्न सकिने उपकरण छन् । जुन उनले राष्ट्रिय आविष्कार केन्द्रबाट ल्याएका हुन् । मेसिनबाट मकै पोल्दा समान तापक्रम र निश्चित समयमा एकैपटक धेरै मकै पोल्न सकिन्छ । जसले गर्दा मकै स्वादिलो हुन्छ भने आफ्नो समय पनि बचत हुने सापकोटा बताउँछन् ।

मुख्यत: राजमार्गका यात्रुलाई लक्षित गर्दै मकै घर सञ्चालनमा आएको हो । यद्यपि उनको मकै घरमा हाल विदेशी पर्यटकदेखि, साहित्यकार, पत्रकार, कलाकार, व्यापारी र समाजसेवीहरू आउने गर्छन् ।

फर्निचर व्यवसायसँगै १५ लाखको लगानीबाट व्यवसाय सुरु, दैनिक १२ हजार रुपैयाँको व्यापार

सापकोटाले सुरुमा फर्निचर व्यवसाय गर्थे । नवलपुरको एउटा कृषि सहकारीको सचिव पनि हुन् उनी । ‘कृषि सहकारीबाट गाउँगाउँ जाँदा केही नयाँ गर्नुपर्छ भन्ने सोच आउँथ्यो ।’ उनी भन्छन्, त्यसपछि मकैको परिकार बनाउने व्यवसाय सुरु गरियो ।’

यस्तै उनले पर्यटकलाई लक्षित गर्दै चितवनको सौरहा आसपास पनि मकैघरको शाखा सञ्चालनमा ल्याउने योजना बनाएका छन् । गैँडाकोटमा बाह्रै महिना मकै खेती हुने र त्यहाँको हावापानी पनि मकै उब्जाउ हुनेयोग्य रहेकाले थप व्यवसाय विस्तारमा पनि पर्याप्त सम्भावना देख्छन् उनी ।

अहिले उनले फर्निचर व्यवसायलाई पनि निरन्तरता दिँदै आएका छन् । साथसाथै मकै घर पनि सञ्चालन गरिरहेका छन् । स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्न भन्दै सापकोटाले १५ लाखको लगानीमा मकै घर सञ्चालनमा ल्याएका हुन् । अहिले उनको मकैघरमा दैनिक १२ हजारजतिको व्यापार हुन्छ ।

मकै घरमा ३ जनाले रोजगारी पनि पाएका छन् । उनले स्थानीय जातको मकै प्रयोग गर्ने गर्छन् । उनले हेटौँडा, सर्लाही र चितवनबाट मकै खरीद गरेर ल्याउने गरेको बताए ।

राजमार्गमा गुड्ने सवारीका यात्रु नै मकै घरका ग्राहक हुने गरेको उनले बताए । अब उनी मकै घरमा ५ जनालाई रोजगारी दिने तयारीमा छन् । स्थानीय किसानका उत्पादनलाई प्रवर्द्धन पनि मकैघर जस्ता व्यवसाय सञ्चालनमा आउनुपर्ने उनको भनाइ छ ।

मकैघरमा पाक्छन् मकैका १० परिकार, क्यान्सर बिरामीलाई नि:शुल्क मकैको जुस

सापकोटाको मकैघरमा हरियो मकैबाट समोसा, पानीपुरी, मोमो र तास जस्ता विभिन्न १० प्रकारका परिकार पाक्छन् । पोलेको, उसिनेको, साँधेको, भुटेको मकै पाइनुका साथै यहाँ मकैको रोटी, मोमो, पुलाउ, पकौडा, चटपटसहित मकैबाट बनाउन मिल्ने टिकिया चाट, मकै चिल्ली, मकैको सातु, मकैको पकौडालगायतका परिकार पाइन्छन् ।

सापकोटाका अनुसार मकै उमालेर बनाइएको जुस मकैघर गैँडाकोटमा उपलब्ध छ । जसको सेवनले कोलेट्रोललाई नियन्त्रण गर्छ, एनिमियाबाट बचाउँछ, शरीरमा आइरनको कमिलाई पूरा गर्छ, शरीरको तौल कम गर्छ, अल्जाइमरलाई मद्दत गर्छ र आँखाका लागि पनि फाइदा गर्छ । यस्तै हड्डी मजबुत बनाउनुका साथै मुटुको स्वस्थता र पाचन शक्तिसमेत बडाउँछ ।

मकैघरमा केही समयपछि नयाँ परिकार थप्ने योजना रहेको सापकोटाले सुनाए । स्थानीयवासी, राजमार्गका यात्रु र पर्यटकहरूलाई लक्षित गरेर मकै घर सञ्चालनमा ल्याएको हो । मकैका परिकारहरु मीठो र स्वस्थकर पनि भएकाले राम्रै व्यापार भइरहेको उनको भनाइ छ ।

भदौ महिनामा उनले भरतपुर क्यान्सर अस्पताल नजिकै पनि आफ्नो शाखा विस्तार गर्ने योजना सुनाए । उनले क्यान्सर बिरामीलाई नि:शुल्क मकैको जुस उपलब्ध गराइरहेका छन् । यसकारण पनि सामाजिक सेवाभावले अस्पताल नजिकै मकैघरको शाखा विस्तार गर्न लागिएको हो ।

यस्तै उनले पर्यटकलाई लक्षित गर्दै चितवनको सौरहा आसपास पनि मकैघरको शाखा सञ्चालनमा ल्याउने योजना बनाएका छन् । गैँडाकोटमा बाह्रै महिना मकै खेती हुने र त्यहाँको हावापानी पनि मकै उब्जाउ हुनेयोग्य रहेकाले थप व्यवसाय विस्तारमा पनि पर्याप्त सम्भावना देख्छन् उनी ।

उनले आफैँ पनि मकै खेती गर्ने योजना बनाएको बताए । आगामी दिनमा मकैघरभित्रको मकैकाे झल्काे दिने गरी साजसज्जाकाे तयारी भइरहेको छ । प्रस्थान ढाेकामा मकैका आकृति तथा मकैका खाेस्टाले बुनिएकाे बस्ने चकटी बनाउनका लागि उनले तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय