पछिल्लो समय गाई-भैँसीमा देखिएको लम्पी स्किन रोगबाट साना किसान धेरै नै पीडित भएको देखिन्छ । उनीहरूले जीविकोपार्जनका लागि घरमा दुईवटा गाई वा भैँसी पालेका हुन्छन् ।
रोगले दुवै गाई, भैँसी मरे भने यस्ता किसानलाई अपूरणीय क्षति हुन्छ । त्यसैले सरकारले किसानको हितलाई प्राथमिकता दिई संक्रामक रोग नियन्त्रणसम्बन्धी कार्यविधि वा निर्देशिका मन्त्रिपरिषद्बाटै जारी गरी राहतको व्यवस्था गर्नुपर्छ ।
यसअघि बर्डफ्लू पीडित किसानलाई समेटेकै मोडेलमा राहत वितरण गर्न सकिन्छ । मन्त्रिपरिषद्ले यससम्बन्धी व्यवस्था गर्न ढिला गर्नुहुँदैन ।
साथै, सबै पक्ष रोग नियन्त्रणका लागि खटिनुपर्छ । पशु प्राविधिकहरूको मात्रै जिम्मेवारी हो भनेजसरी हेरिनुहुँदैन । किनभने, बर्डफ्लू नियन्त्रण गर्दा प्रहरी र सेनासमेत खटेको अवस्था थियो ।
यो रोग नियन्त्रण गर्न सरकारी वा अन्य क्षेत्रमा उचित मात्रामा ठोस पहल केही भएको देखिँदैन । सरकारले राहत नै दिन आवश्यक ठानेको खण्डमा गाई मरेका किसानलाई बाच्छी र भैँसी मरेका किसानलाई पाडी दिन सकिन्छ ।
बिरामी गाई, भैँसीको हेरचाह गर्न सम्बन्धित किसानलाई पौष्टिक आहार, साइलेज र औषधि वितरण गर्न सकिन्छ ।
✍️ भास्करमणि काफ्ले, पशु प्राविधिक









