काठमाडौँ, २२ साउन । भारतीय सीमाबाट अवैध रुपमा दूध तथा दूग्धजन्य पदार्थ आयात हुँदा नेपाली दुग्ध उत्पादक कृषकहरू समस्यामा छन् । जसका कारण नेपाली किसानहरूले उत्पादन गरेको दूधको खपत घटेको छ ।
दूधको खपत घटेसँगै किसानले उत्पादन गरेको दूधले बजार नपाउँदा दूध खेर गइरहेको छ । किसानको दूध खेर जाँदा उनीहरूको आयमा समेत असर परेको छ ।
यतिमात्रै होइन, अहिले लम्पी स्किन रोगका कारण भारत पनि प्रभावित छ । यस्तोबेला झन् सीमानाकाबाट अवैध रूपमा दूध भित्रिँदा थप जोखिमसमेत बढेको छ ।
यस्तो अवस्थामा अवैध रूपमा भित्रिने दूध तथा दुग्ध पदार्थ नियन्त्रण गरी नेपालमा उत्पादित दूधलाई संरक्षण गर्दै किसानलाई राहत दिलाउन पहल थालिएको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्रप्रसाद यादव, डीडीसी विराट्नगरका परमेश्वर चौधरी र नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले मोरङ सिडियो कार्यालय विराट्नगरमा सिडियो वीरेन्द्रप्रसाद यादवलाई भेटेर भारतबाट भित्रिने अवैध दूध नियन्त्रण गर्न अनुरोध गरेका छन् ।
अध्यक्ष दाहालका अनुसार यो अभियान भारतसँग सीमा जोडिएका देशैभरका जिल्लामा हुनेछ । यसपछि टोलिले झापामा पनि दूधबारे सचेतना जगाउने कार्यक्रम छ ।









