मोरङ, २३ साउन । नेपाल डेरी एसोसिएसन र सहज परियोजनाको सहकार्यमा मोरङको पथरी शनिश्चरेमा ५ दिने डेरी ल्याब्रोटरी टेक्निसियन तालिम सम्पन्न भएको छ ।
नेपाल डेरी एसोसिएसन कोशी प्रदेशका अध्यक्ष गंगाबहादुर खड्काको अध्यक्षता एवं राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवको प्रमुख आतिथ्यमा तालिम सम्पन्न भएको हो ।
कार्यक्रममा कोशी प्रदेशका उपाध्यक्ष गुरुप्रसाद दाहालले स्वागत मन्तव्य राखेका थिए भने केन्द्रीय महासचिव हेमचन्द्र खनालले कार्यक्रमको महत्त्व बताउँदै आफ्नो भनाइ राखेका थिए । तालिम कार्यक्रमका मुख्य प्रशिक्षक सिवाराम सिंहले तालिमको महत्त्व बुझाउँदै सिकेको कुरा लागू गर्न सबैलाई अनुरोध गरे ।
नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले तालिमका सहभागी सबैलाई तालिममा सहभागी सबैले सिकेको कुरा अनिवार्य कार्यान्वयन गर्न अनुरोध गर्दै नेपाल डेरी एसोसिएसनको बारेमा बताए । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले महत्वपूर्ण कार्यक्रम रहेकाले यसले गुणस्तरमा सुधार आउने बताए ।
यो कार्यक्रम कोशी प्रदेशअन्तर्गत दमकमा साउन ६ देखि १० गतेसम्म १२ जना, फिक्कलमा साउन ११ देखि १५ गतेसम्म १७ जना र साउन १८ देखि २२ गतेसम्म पथरी, मोरङमा १३ जनाको उपस्थितिलाई तालिम प्रदान गरिएको थियो । यो कार्यक्रमले सहभागी प्रतिनिधि मार्फत पक्कै पनि सम्बन्धित डेरी उद्योगमा सुधार आउने कुरामा विश्वास रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग विराटनगरका प्रतिनिधि दिनेश सुबेदीले बताए ।
तालिममा सहभागीको तर्फबाट आफ्नो अनुभव साटासाट गर्ने क्रममा पदम दाहालले यो तालिमबाट आफूले धेरै कुरा सिक्न पाएको कुरा बताए । कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, महासचिव हेमचन्द्र खनाल, सदस्य सुमन चिमरिया, अशेषकुमार बुढाथोकीको उपस्थिति रहेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट दिनेश सुवेदी, सहज परियोजनाका प्रविन श्रेष्ठ, मुख्य प्रशिक्षक सिवाराम सिंह, सहायक प्रशिक्षक नगिना गौतम सहितको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी सबैलाई प्रमुख अतिथि यादव, एसोसिएसन कोशी प्रदेश अध्यक्ष खड्का र केन्द्रीय अध्यक्ष दाहालले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम सञ्चालन एसोसिएसन कोशी प्रदेशका सचिव अशेषकुमार बुढाथोकीले गरेका थिए ।
अन्त्यमा कार्यक्रमका अध्यक्ष नेपाल डेरी एसोसिएसन कोशी प्रदेशका अध्यक्ष गंगाबहादुर खड्काले सहभागी सबैलाई धन्यवाद दिँदै सहज परियोजनासँग पुनः पनि सहकार्य गर्दै जान नेपाल डेरी एसोसिएसन कोशी प्रदेश तयार रहेको बताए ।









