काठमाडौँ, २४ साउन । राष्ट्रिय दुग्ध विकास बोर्ड ब्युँताउन सरकार सकारात्मक देखिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय दुग्ध विकास बोर्ड ब्युँताउने निर्णय गरेको हो ।
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत बोर्ड खारेज गर्ने घोषणा गरेको भए पनि आफ्नै निर्णयबाट सरकार पछि हटेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालले किसानबाट माग भएअनुसार बोर्ड ब्युँताउने निर्णय भएको जानकारी दिएका छन् । बोर्ड खारेज नहुने निर्णय भएपछि नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले सकारात्मक कुराका लागि निरन्तर लागिरहँदा सकारात्मक नतिजा प्राप्त हुन्छ भन्ने कुरा प्रमाणित भएको प्रतिक्रिया दिएका छन् ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छी तथा मत्स्य विकास सहकारी संघ र कृषकसँग सरोकार राख्ने निकायलगायतका संघसंस्थाले दुग्ध क्षेत्रको हितमा काम गर्ने बोर्ड खारेज नगर्न संघर्ष गर्दै आएका थिए ।









