चर्चित

काठमाडौँ, २५ साउन । युवा भनेको देश, परिवार र व्यक्तिगत समृद्धिको आधार हो । तर देशको युवा वर्ग भने कामको खोजीमा दिनहुँ विदेशतिर गइरहेका छन् । यसतर्फ राज्य वा अभिभावक कसैले पनि ध्यान दिएका छैनन् ।

सन्तानहरू विदेशिँदा अभिभावकहरू छिमेकीसँग फुर्ती लगाउँछन् भने राज्य रेमिट्यान्सले धानिएकाले त्यसमै जोड दिइरहेको छ ।

तर, विदेश पसाइभित्रको यथार्थबारे सबै अवगत छैनन् । परदेशमा भोग्नुपरेको पीडा सहँदै बिस्तारै कमाऊँला र घरमा पैसा पठाऊँला भन्ने उनीहरूको सपनाबारे जसले भोगेको छ उसैलाई मात्र थाहा छ ।

यसैभित्र लुकेको छ; विदेशिनुपर्दाको पीडा र बोझ । पछिल्लो समय स्वदेशमा रोजगारीका अवसर नहुँदा युवाहरू दिनानुदिन विदेश जाने गरेका छन् । घरखर्च चलाउनकै लागि उनीहरूले विदेशिनुपरेको यथार्थ हो ।

यद्यपि धादिङको थाक्रे गाउँपालिका वडा नं ३ का प्रदीप तामाङ भने ७ वर्षको कतार बसाइपछि स्वदेश फर्किएका छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले गाउँ छाडेर हिँडेका तामाङको कहानी लामो छ ।

‘यसै पनि घरको अवस्था आर्थिक रूपमा निकै कमजोर थियो । त्यसमाथि गाउँमा काम पाउनै मुस्किल ।’ तामाङ भन्छन्, ‘यही देखेर गाउँमा बस्नै मन लागेन र गाउँ छाडेँ ।’

यो कुरा विसं २०६५ सालतिरको हो । यसपछि उनी कामको खोजीमा काठमाडौँ आएका थिए । काठमाडौँबाट नजिकै रहेको धाडिङमा जन्मिएका प्रदीपलाई काठमाडौँमा काम खोज्न धौधौ भयो । काम खोज्ने क्रममा उनले एकजना कृषकलाई भेटे ।

जसले च्याउँ खेती गरिरहेका थिए । च्याउँ खेती गरिरहेका ऋषिलाल तामाङसँगको प्रदीपको भेट एक हिसाबले फलदायी नै रहेको देखिन्छ । उनले ऋषिलालसँगै काम गरे । उनीसँग रहँदा च्याउँ खेतीबारे बिस्तृतमा बुझ्ने अवसर पाए ।

विदेशमा रहँदा प्रदीपले मार्केटिङको काम गरेका थिए । अहिले काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं ८ मातातीर्थमा व्यावसायिक रूपमा च्याउँ खेती गरिरहेका उनी भन्छन्, ‘विदेशमा मार्केटिङको सीप सिकेँ, त्यसले गर्दा आफूले उत्पादन गरेको च्याउँको बजारीकरणमा निकै सहज भएको छ ।’ विदेशमा रहँदा जे सीप सिकेको छ, स्वदेश फर्किएर त्यससँग सम्बन्धित काम गर्दा निकै सजिलो हुने प्रदीपको अनुभव छ ।

जब उनले च्याउँ खेतीबारे जाने, त्यसपछि आफैँ पनि गर्न सक्छु भन्ने हौसला थपिएको तामाङले बताएका छन् । आफैँ खेती गर्ने हुटहुटी बोकेर गाउँ फर्किने निधो गरे । आफ्नै लगानीमा च्याउँ खेती गर्ने ईच्छासहित गाउँ फर्किएका तामाङलाई भने सुरुवातमा लगानी गर्नका लागि पैसाको अभाव भयो ।

आफैँ स्वरोजगार हुनेगरी व्यवसाय गर्छु भनेर गाउँ फर्किएका उनलाई लगानीको कमिले गर्दा पहिलो गासमै ढुङ्गा लागेको अनुभूति हुन्छ । जसले उनको स्वरोजगार हुने सपना त्यहीँनेर विश्राम लिन विवश थियो ।

त्यसपछि रोजगारीका लागि भन्दै विदेश जाने निर्णयमा पुगेको उनी बताउँछन् । काठमाडौँ आएर च्याउँ खेती गर्न सिकेको र आफ्नै गाउँमा व्यवसाउ गर्ने अठोट लिए पनि त्यसमा अवरोध देखिएपछि २०६८ सालमा उनी कतार गए । कतारमा दु:खसुख गरेर ७ वर्ष बसे । उक्त बसाइका क्रममा गरेको मेहनतपछि केही लगानी जम्मा गरेर २०७५ सालमा नेपाल फर्किए र २०७६ सालमा च्याउँ खेती गर्न सुरु गरे । जुन उनले यसअघि सिकेका थिए ।

विदेशमा रहँदा प्रदीपले मार्केटिङको काम गरेका थिए । अहिले काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं ८ मातातीर्थमा व्यावसायिक रूपमा च्याउँ खेती गरिरहेका उनी भन्छन्, ‘विदेशमा मार्केटिङको सीप सिकेँ, त्यसले गर्दा आफूले उत्पादन गरेको च्याउँको बजारीकरणमा निकै सहज भएको छ ।’ विदेशमा रहँदा जे सीप सिकेको छ, स्वदेश फर्किएर त्यससँग सम्बन्धित काम गर्दा निकै सजिलो हुने प्रदीपको अनुभव छ ।

अहिले प्रदीपले च्याउँ खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । उनले च्याउँ खेती गरेर मासिक १० लाखबराबरको कारोबार गर्ने गरेको बताए । सबै खर्च कटाएर करिब १ लाखजति मासिक बचत हुने गरेको छ ।

एनबी च्याउँ फार्म दर्ता गरेर व्यावसायिक रूपमा खेती सुरु गरेका तामाङसँग हाल ३५ वटा टनेल छन् । सबै टनेलमा लगाइएका च्याउँ उत्पादन दिने तयारीमा छन् ।

यसवर्ष उनले ८० टन च्याउँ उत्पादन गरी बिक्री गर्ने लक्ष्य लिएका छन् । जसको बजार काठमाडौँको कालिमाटी बजार हो । तामाङका अनुसार भदौको पहिलो हप्तादेखि च्याउँ उत्पादन सुरु हुनेछ ।

बजारमा च्याउँको मूल्य सिजनमा प्रतिकिलो १ सय रुपैयाँ र बेमौसममा चाहिँ प्रतिकिलो २ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको तामाङ बताउँछन् ।

युवाहरूलाई च्याउँ खेतीतर्फ प्रोत्साहन गर्नुपर्छ

युवाहरूलाई च्याउँ खेतीतर्फ प्रोत्साहन गर्नुपर्नेमा तामाङ जोड दिन्छन् । कृषि ऋण लिनका लागि किसानलाई सहज वातावरण भए च्याउँ खेतीबाट धेरैलाई रोजगारी दिन सकिने उनको भनाइ छ । जसका लागि सरकारले सहजीकरण गर्नेपर्ने उनी बताउँछन् ।

च्याउँ खेतीमा मनग्ये आम्दानी गर्न सकिने भएकाले अन्य युवालाई पनि च्याउँ खेतीबारे प्रशिक्षण दिएर लगानी गर्ने वातावरण बनाउनुपर्नेमा सरकारले जोड दिनुपर्ने तामाङले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय