चर्चित

दाङ, २५ साउन । पछिल्लो समय फूल खेतीलाई व्यावसायिकता दिनेहरू दिनप्रतिदिन बढिरहेका छन् । नेपालमा पुष्प व्यवसाय फूलको कोपिलाजस्तै अवस्थामा छ ।

यही कोपिला बिस्तारै फक्रिएर फूल बन्दै फूल व्यवसायीलाई आनन्दित बनाउँदै गएको छ ।

यसरी आनन्दित हुनेमध्येएक हुन्; दाङको घोराही उपमहानगरपालिका–१४ झिँगौराका लोकेन्द्र रोकामगर ।

रोकामगर ९ वर्षदेखि व्यावसायिक फूलखेतीमा लागिपरेका छन् । फूल खेतीबाट स्वदेशमै स्वरोजगार हुने सपना ब‍ोकेर वैदेशिक रोजगारीलाई बिट मारेका उनको सपना बिस्तारै पूरा हुँदै गएको छ ।

फूलखेतीबाट आम्दानी राम्रो हुन थालेपछि अहिले उनलाई भ्याइनभ्याइ छ । उनले यही व्यवसायलाई बिस्तार गर्दै जाने योजना बनाएका छन् ।

रोकामगरले ७ वर्ष कतारमा बिताए । रोजगारीका क्रममा कतार गएका रोकामगरले स्वदेश फर्किएपछि भने विदेश जाने सोचै नआएको बताए ।

हाल उनले हजारीका बिरुवा उत्पादन गर्दै आएका छन् । ‘दशैँ र तिहारलगायत अन्य शुभकार्यमा फूलको माग धेरै छ ।’ उनले भने, ‘राम्रै बिक्री भइरहेकाले सोचेजस्तै आम्दानी पनि छ ।’

थोकमा एउटा बिरुवाको साढे ३ र खुद्रामा ५ रुपैयाँका दरले बिक्री हुने उनी बताउँछन् । उनले गत तिहारमा मात्रै १० लाख रुपैयाँको हजारी फूलका माला र फूल बिक्री गरेको बताए । अहिले उनले सजावटका लागि फूलका बिरुवा, उत्पादन तथा बिक्रीसमेत गर्दै आएको छ । फूलको माग दसैँ तिहारमा बढी हुने गरेको उनको भनाइ छ ।

नेपालमा विगत ४० वर्षदेखि व्यावसायिक रूपमा फूल खेतीको शुरुवात भएको हो । त्यसअघि व्यक्तिगत प्रयोजनका लागि आँगनका डिलमा फूल रोपिने गरिन्थ्यो । अहिले नेपालमा सयौँ व्यवसायीहरू नर्सरी उत्पादन र फूलखेती तथा व्यापारमा लागेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय