चर्चित

काठमाडौँ, २६ साउन । कर्णाली प्रदेशको तत्कालीन कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

उनीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले आरोप–पत्रमा शीत भण्डार निर्माण गर्दा विषय विज्ञद्वारा प्रमाणित नगरिएको खेस्रा डिजाइन तथा नक्साका आधारमा लागत अनुमान तयार गरेको उल्लेख छ । त्यही खेस्रा नक्सासमेतको विपरीत हुने गरी शीत भण्डार निर्माण गराएको र गुणस्तरहीन कामलाई गुणस्तरको प्रमाणित गरी कम्पनीका नाममा भुक्तानी गरेको पत्रमा उल्लेख छ ।

भारी उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका आयोजना प्रमुख रहेका बेला सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

प्रवक्ता भोला दाहालका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रभित्र शीत भण्डार निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी भएको उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा भ्रष्टाचार भएको खुलेको हो ।

सचिवलगायत १६ जनाले कर्णाली कोल्डचेन लजिस्टिक प्रालि सुर्खेतलाई ९२ लाख ४३ हजार दुई सय ९८ रुपैयाँ भुक्तानी गरेर भ्रष्टाचारजन्य कसुर गरेको अख्तियारको भनाइ छ ।

अख्तियारले सचिव भारी, गणेश भण्डारी, हरिप्रसाद पण्डित, हरिबहादुर थापा, भक्तिराम शर्मा, गुरुप्रसाद अधिकारी, उत्तमकुमार बस्नेत, खिमलाल वली, सुरेशकुमार थापा, उषा ठाडा, प्रकाश अधिकारी, सुवर्णराज भारती, कलाधर उपाध्याय, लक्ष्मण कँडेल, प्रवल शाही र महेश शर्मासहित १६ जनालाई प्रतिवादी बनाएको छ । भारी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पूर्वसचिव पनि हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय