गण्डकी, २६ साउन । गण्डकी प्रदेशका बङ्गुरपालक किसानले बङ्गुरमा देखिएको ‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारण झन्डै २४ करोडबराबरको क्षति बेहोर्नुपरेको छ । गत वर्षको हिउँदमा पहिलोपल्ट नेपालमा सङ्क्रमण पुष्टि भएको उक्त रोगबाट गण्डकी प्रदेशभित्र १८ हजार २० बङ्गुरको मृत्यु भएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।
‘२२ हजार ६६ बङ्गुर सङ्क्रमित भएकामा ठूलो सङ्ख्यामा बङ्गुर मरे, करिब रु २४ करोड बराबरको क्षति भएको हाम्रो अनुमान छ’, मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेले भने, ‘भाइरसजन्य यो रोगको सङ्क्रमण दर र मृत्युदर दुवै उच्च छ ।’
उनका अनुसार उक्त रोग कास्की, लमजुङ, तनहुँ, बागलुङलगायत जिल्लाका बङ्गुर फार्ममा बढी देखिएको थियो । सबैभन्दा बढी क्षति कास्कीमा भएको थियो ।









