कैलाली, २८ साउन । पछिल्लो समय नेपालमा पढेर जागिर खानैपर्छ भन्ने आम बुझाइ छ । त्यतिमात्रै होइन; १२ कक्षा पढ्दै गर्दा विदेश जाने रुमानी सपना बोकेका किशोरकिशोरीको जमात पनि ठूलै छ ।
उच्च शिक्षा अध्ययन गरेकाहरू त गाउँमा बस्नै मान्दैनन् । उनीहरूको गन्तव्य शहर हुँदै विदेशतिर केन्द्रित भएको देखिन्छ ।
यो यथार्थ एकातिर छ भने अर्कातिर रोजगारकै सिलसिलामा घरपरिवारसँगै श्रीमान्-श्रीमती पनि वर्षौँसम्म टाढा बस्नुपरेको बाध्यताको पाटो अर्को छ ।
यद्यपि धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारीमा शंकरसिंह विष्ट र सुशीला विष्ट भने स्वदेशमै सम्मानजनक व्यवसाय गरेर बसेका छन् । विष्ट दम्पत्तीले व्यावसायिक पुष्प खेती सुरु गरेका छन् । अहिले विष्ट दम्पत्ती बिरुवा गोडमेल गर्नेदेखि मलखाद राख्ने र नर्सरीमा भएका बिरुवा बिक्रीमा व्यस्त छन् । विष्ट दम्पतीको पारिवारिक पेशा नै अहिले पुष्प खेती भएको छ ।

धनगढीको मटियारीमा उनीहरूले डेढ बिघा जग्गा भाडामा लिएका छन् । यहीँ उनीहरूले पुष्प खेती सुरु गरेका हुन् । “यस वर्ष डेढ बिघा जग्गामा सयपत्री र सुपारी फूल खेती गरेका छौँ । जसबाट १० टनभन्दा बढी फूल उत्पादन गर्ने लक्ष्य राखेका छौँ ।” विष्टले भने ।
यसवर्ष उनले सयपत्री र सुपार गरेर दुईथरी फूल रोपेका छन् । उनले अहिले करिब ३० हजार बिरुवा रोपेका छन् भने सयपत्री र सुपारी फूल गरेर डेढ लाख बोट बिक्री गर्ने लक्ष्य लिएका छन् । अहिले ३० हजार फूलका बिरुवा रोप्न साढे ३ लाख रुपैयाँ खर्च भएको बिष्टले बताए । यसवर्ष प्रतिकठ्ठामा १ हजारबढी बिरुवा रोपिएका छन् । जसबाट अनुमानित रूपमा १० टन फूल उत्पादन हुने विष्ट बताउँछन् ।
बिरुवा रोपेको ९० दिनपछि फूल लाग्न सुरु हुनेछ भने अहिले लगाएको बोटले लगातार ६ महिना फूल उत्पादन गर्ने विष्ट बताउँछन् । प्रतिबोट ३ देखि ४ किलोग्राम फूल उत्पादन हुने विष्टको आकलन छ ।
विष्टले बण्डाेली कृषि नर्सरीका नामबाट फूलको बिरुवा पनि बिक्री गरिरहेका छन् । “अहिले बिरुवा बिक्री गरिरहेका छौँ ।” विष्टले भने, “दशैँ र तिहारलाई लक्षित गरेर बेर्ना सारेका छौँ ।”
असार तेस्रो साता छरेको बेर्नालाई साउन पहिलो साता बारीमा सारेका छन् । बिरुवा रोपेको ९० दिनपछि फूल लाग्न सुरु हुनेछ भने अहिले लगाएको बोटले लगातार ६ महिना फूल उत्पादन गर्ने विष्ट बताउँछन् । प्रतिबोट ३ देखि ४ किलोग्राम फूल उत्पादन हुने विष्टको आकलन छ ।
तिहारमा मात्रै ७० देखि ८० क्विन्टल फूल उत्पादन हुने विष्टको अनुमान छ । विष्टले अन्य किसानलाई पनि बिरुवा थोक मूल्यमा बिक्री गर्छन् । यस वर्ष बाहिरबाटै १ लाख २५ हजारको माग आएको विष्टले बताए ।
विष्टले यसअघि जिल्लाकै कैलारी गाउँपालिकाको पवेरामा घाँस खेती, भैँसीपालन र केही जग्गामा पुष्प खेती गर्दै आएका थिए ।

आसपासमा थप जग्गा भाडामा उपलब्ध भए अर्को वर्षबाट पुष्प खेतीको क्षेत्रफल बढाउने उनले बताएका छन् ।
शंकरकी श्रीमती सुशीलाले स्नातक गरेकी छिन् भने शंकरले १२ कक्षा पास गरेका छन् । अब सुशीला र शंकरको जोडीले व्यावसायिक पुष्प खेतीमा रमाउने सोच बनाएका छन् ।
उपमहानगरपालिकाले व्यावसायिक पुष्प खेतीसम्बन्धी तालिम दिएपछि हौसिए
गएको बैशाख ४ गतेदेखि आसार १० गतेसम्म सीटीईभीटीले ६५ दिनको तालिम सञ्चालन गरेको थियो । त्यसपछि धनगढी उपमहानगरपालिकाले पनि एक हप्ते व्यावसायिक पुष्प खेतीसम्बन्धी तालिम दिएको थियो । त्यसमा विष्ट दम्पत्ती पनि सहभागी भएका थिए । पुष्प खेतीसम्बन्धी तालिम लिएपछि थप हौसला बढेको विष्टले बताइन् ।
धनगढी उपमहानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्यायका अनुसार यसवर्ष धनगढीको माग पूरा गरेर बाहिर पठाउनसमेत हुनेगरी फूल उत्पादन हुने छ । उपाध्यायका अनुसार तालिम लिनेहरूले कम्तीमा १ कट्ठादेखि डेढ बिघामा पुष्प खेती गरेका छन् ।









