चर्चित

काठमाडौ, २८ साउन । ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको छ । पनौती पर्यटन विकास केन्द्रको १५ औं स्थापना दिवसका अवसरमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको हो ।

वाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाले पर्यटक सूचना केन्द्रको उद्घघाटन गरेका हुन् । उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले पर्यटक सूचना केन्द्रले पनौतीलाई विश्वसामु चिनाउनको लागि मद्धत गर्ने बताए । ‘पनौतीलाई जीवन्त बनाइ राख्नको लागि पनौतीको ऐतिहासिकता, यहाँका कला, संस्कार, संस्कृति, सम्पदाको जगेर्ना गर्नुपर्छ,’ उनले भने, ‘यसको संरक्षण तथा प्रवद्र्धन गर्ने दायित्त्व हामी सबैको भएकाले यस कार्यमा सबैको साथ र सहकार्यको आवश्यक छ, सबैले सहकार्य गर्नुहुन्छ भन्ने अपेक्षा गरेका छौं ।’

पनौतीका धार्मिक–सांस्कृतिक एवं पर्यटन क्षेत्रलाई नगरपालिकाले प्राथमकितामा राख्दै आएको र पर्यटक सूचना केन्द्र स्थापनाका लागि नगरपालिकाले आवश्यक सहयोग गरेको पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले बताए । उनका अनुसार, पनौतीको पर्यटकीय क्षेत्रको विकास, संरक्षण र सम्वद्र्धनका लागि निरन्तर कार्य भइरहेको छ ।

त्यस्तै, पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताउँदै, धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जोगाउन नगर प्रमुख रामशरण भण्डारीले नगरबासीमा आग्रह गरे ।

सांस्कृतिक एवं ऐतिहासिक नगरको रुपमा परिचित पनौतीमा घुम्न आउने पर्यटकलाई आवश्यक सूचना प्रदान गर्ने उद्देश्यले पनौती–७ मा पर्यटक सूचना केन्द्रको स्थापना गरिएको पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्मचार्यले जानकारी दिए । उनका अनुसार, केन्द्रबाट पर्यटकले पनौतीको बारेमा विस्तृत जानकारी पाउनुको साथै पनौती आसपासका पर्यटकीय स्थलहरुको बारेमा पनि जानकारी पाउनेछन् । यसका साथै केन्द्रबाट पर्यटकहरुले पनौतीको मौलिकता, रीतिरिवाज, खानाका परिकार, पोसाकहरुका बारेमा पनि जानकारी पाउनेछन् । पर्यटकहरुको सुविधाका लागि ‘पर्यटक एम्बुलेन्स’ (यात्राको सहजताका लागि) को आवश्यक भएको केन्द्रका अध्यक्ष कर्मचार्यले बताए ।

२०६५ सालमै सांसद कृष्णप्रसाद सापकोटा र कमला थापाले पनौती पर्यटक सूचना केन्द्रको उद्घाटन गरेका थिए । तर, त्यसले दीर्घकालीन रुप लिन नसकेको केन्द्रका संस्थापक अध्यक्ष सुरेश सैंजुले बताए । उनका अनुसार, पनौती पर्यटन विकास केन्द्रले १५ औं स्थापना दिवस मनाइरहँदा केन्द्रको पाँच वटा कार्यकालले गरेको निरन्तर प्रयासपछि पनौतीमा पर्यटक सूचना केन्द्र स्थापना गर्न सफल भएको हो ।

केन्द्रलाई व्यवस्थित बनाउनका लागि दीर्घकालीन योजना बनाएर काम गर्ने तयारी भइरहेको केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्मचार्यले बताए । उनका अनुसार, पर्यटकलाई पनौतीका महत्त्वपूर्ण स्थलको बारेमा जानकारी गराउनका लागि ‘पनौती पर्यटन सांस्कृतिक पदमार्ग’ को नक्सा तयार गरिएको, ‘पनौती हेरिटेज पासपोर्ट’ बनाउने तयारी भइरहेको छ । केन्द्रले ‘सूचना, सुरक्षा र सहयोग’ लाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको अध्यक्षले कर्मचार्यले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय