गण्डकी, ३० साउन । गण्डकी प्रदेशमा पूर्णखोप कार्यक्रमअन्तर्गत ७५ प्रतिशत पशुपालक किसानको घरगोठमा खोप सेवा पुगेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।
गण्डकीका ८५ पालिकामध्ये एक महानगरपालिका, २३ नगरपालिका र ३८ गाउँपालिकाका पाँच सय ८० वडामा पूर्णखोप कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गृष्म न्यौपानेले जानकारी दिए ।
उनका अनुसार गाईभैँसीलाई लाग्ने खोरेत, भ्यागुते, चरचरे, बङ्गुरमा देखिने क्लासिकल स्वाइन फिभर, बाख्रामा देखिने पिपिआर र कुकुरलाई लाग्ने रेबिज रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको हो ।
गत आर्थिक वर्षमा मात्र खोरेतको छ लाख २८ हजार छ सय १५ डोज, चरचरे र भ्यागुतेको तीन लाख ९६ हजार ५०, क्लासिकल स्वाइन फिभरको ८० हजार एक सय ३८, पिपिआरको ११ लाख ८४ हजार ६० र रेबिजको ४२ हजार दुई सय ८० डोज खोज लगाइएको मन्त्रालयले जनाएको छ ।
पूर्णखोप कार्यक्रमका लागि गत आवमा १३ करोड ७४ लाख खर्च भएको डा. न्यौपानेले बताए ।









