ललितपुर, ३२ साउन । वरपर हरियाली, डाँडाभरि फलेका फलैफलका झुप्पा टाढैबाट देखिन्छन् । ललितपुरको बागमती गाउँपालिका वडा नम्बर १ घुसेलका गोविन्द गौतमको बारीमा अहिले लटरम्म तरकारी र फलफूल फलेका छन् ।
डाँडावारिबाट देखिने भ्यूटावर बनाएको खेत उनै गौतमको हो । आफ्नो र सहोदर दाजुको गरी करीब २० रोपनी क्षेत्रफलमा फैलिएको बारीको चारैतिर नजर लगाउन सहज होस् भनेर गौतमले उक्त भ्यूटावर बनाएका हुन् ।

आफ्नो जनजीविका कृषि तथा पशु फार्ममा उनले हाल तरकारी बालीमा टमाटर तथा फलफूलमा किबी, एबोकाडो, जापानिज हलुवावेद र जापानिज सुन्तला फलाएका छन् ।
गौतमले हाल एबोकाडोसँगै प्रशस्त किबी पनि फलाएका छन् । उनकाे बगैँचामा २ सय १५ वटा किबीका बोट छन् । अघिल्लो वर्ष तिनै बोटबाट १ हजार ७ सय किलो किबी उत्पादन भएको थियो । जसबाट उनले ३ लाख रुपैयाँ आम्दानी गरेका थिए । गौतमले १० वर्षदेखि किबी फलाउँदै आएका छन् ।
नेपाल सरकारको नीतिअनुरूप कृषकलाई सरकारी सेवासँग जोड्न आफूले सक्दो प्रयास गरिरहेको गौतम बताउँछन् । गाउँपालिकाभित्रका सबै कृषक परिवारलाई समेट्ने गरी स्थानीय तहले प्रतिबद्ध हुने हो भने कृषकको जीवनस्तर निकै माथि उठ्ने गौतम बताउँछन् । जसले गर्दा कृषकले पनि समाजमा सम्मानजनक स्थान बनाउन सक्ने उनको भनाइ छ ।
किबीसँगै १ सय वटा एबोकाडोका पनि बोट छन् । एबोकाडो भर्खरै फल्न सुरु भएको छ । अघिल्लो वर्ष उनले ७० हजारको एबोकाडो बेचेको बताए ।
विभिन्न ठाउँमा जाँदा गौतमले किबी तथा एबोकाडो खाएका थिए । फल मीठो भएका कारण आफ्नो जमिनमा पनि लगाउन सकिन्छ कि भनेर किबी फलको अध्यन गरे । त्यसपछि तारैतार विरुवा ल्याएर आफ्नो जमिनमा लगाएका थिए ।
अहिले फलले बारी लटरम्म छ । उनले उत्पादन गरेको किबी र एबोकाडोको बजार ललितपुरको लगनखेल हो । गौतमले फलसँगै किबी र एबोकाडोका बिरुवा पनि बेच्दै आएका छन् ।

गौतमले ताजा तरकारीअन्तर्गत गोलभेँडा पनि लगाएका छन् । उनीसँग २६ मीटर लम्बाइका ४ वटा टनेल छन् । टनेलमा ९ सय बोट गोलभेँडाका छन् । एउटा बोटमा औषतमा ६ किलो गोलभेँडा फल्ने गरेको गौतमले बताएका छन् । यसपालि उनले न्यूनतम ८० रुपैयाँ प्रतिकिलोमा टमाटर बेचेको बताए । “८० रुपैयाँबाट बेच्न सुरु गरेको थिएँ । बेच्दै जाँदा ९२ रुपैयाँ प्रतिकिलोसम्ममा बेचियो ।” गौतमले भने ।
फेरिएको दैनिकी
गौतमको दैनिकी अहिले फेरिएको छ । बिहानै उठ्छन्, बारीमा पुग्छन्, बाह्य जिम्मेबारी पनि छ र त्यो सक्काएपछि साँझपख मात्रै घर फर्किन्छन् ।
तरकारी तथा फलफूल उत्पादनको काम यथावत् छ । गौतम विभिन्न निकायसँग पनि आवद्ध छन् । उनी पालिकास्तरीय कृषि प्रसार शाखाको सदस्य पनि हुन्छ ।
नेपाल सरकारको नीतिअनुरूप कृषकलाई सरकारी सेवासँग जोड्न आफूले सक्दो प्रयास गरिरहेको गौतम बताउँछन् । गाउँपालिकाभित्रका सबै कृषक परिवारलाई समेट्ने गरी स्थानीय तहले प्रतिबद्ध हुने हो भने कृषकको जीवनस्तर निकै माथि उठ्ने गौतम बताउँछन् । जसले गर्दा कृषकले पनि समाजमा सम्मानजनक स्थान बनाउन सक्ने उनको भनाइ छ ।

सरकारको उदाशीनताका कारण कृषकले आवश्यक सुविधा नपाउँदा पेसामा टिक्नै मुस्किल भइदिँदा सामाजिक प्रतिष्ठामा पनि त्यसले असर पार्ने गौतमको बुझाइ छ । यसकारण राज्यले किसानप्रति अपनत्वको भाव दर्शाउनुपर्ने गौतमको भनाइ छ ।
गौतमले किबीबारे विशेष दखल राख्छन् । उनले महिला उद्यमी महासंघमा ४ वर्षजति किबीसम्बन्धी प्राविधिकका रूपमा काम गरेका थिए । जुन संस्थाले घुसेलका २२ जना किसानलाई प्रतिपरिवार ३० बोटका दरले किबीका बिरुवा वितरण गरेको थियो । अन्य खेतीको तुलनामा किबी खेतीले राम्रो फाइदा भएको गौतम बताउँछन् ।
राष्ट्रपतिबाट सम्मान
गत आर्थिक वर्षमा बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्रादेशिक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट गौतमलाई नगदसहित पुरस्कार प्रदान गरेको थियो ।
मन्त्रालयले गौतमलाई ७० हजार नगदसहित सम्मानपत्र प्रदान गरेको थियो । गौतमले २० रोपनी जमिनमा किबी, जापनिज हलुवावेद, एभोकाडोसँगै विभिन्न जातका फलफूल र तरकारी खेती गर्दै आएका छन् ।

कृषि पेसालाई जोगाइराख्ने हो भने सरकारले युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित हुने गरी नीति तथा योजना बनाउनुपर्ने गौतम बताउँछन् ।
करिब दुई वर्षअघि आफूले पनि किबी र टमाटर खेतीका लागि सरकारबाट अनुदान पाएको स्मरण गर्दै गौतमले भने, “सरकारले कृषि अनुदानमा बृद्धि गर्नुपर्ने, समयमै मलखाद उपलब्ध हुनुपर्ने, कृषि उपजलाई सरकारले खरिद गर्ने व्यवस्था गर्नुका साथै बीमाको उचित व्यवस्था हुनुपर्छ ।” काम गर्नेले सेवासुविधा नपाउने तर कागज मिलाउनेले मात्र सरकारबाट सुविधा नै सुविधा लिइरहेको गलत क्रियाकलाप रोकिनुपर्ने गौतम बताउँछन् ।
राज्यले किसानको उत्थानका लागि अभिभावकीय भूमिका निर्वाह गरे मात्र देश समृद्धिको बाटोमा जाने गौतमको बुझाइ छ ।









